Sunday, April 20, 2025

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही – मन्त्री पण्डित

भक्तपुर, फागुन १९ः जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् ।

भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ कौशलटार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाई अभियानको आज उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाउने बताउँदै ‘वैशाख १ गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न दिइने छैन, ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ, अब त्यस्तालाई कारबाही हुन्छ,’ उनले भने ।

कालो धुवाँ फाल्ने सवारी साधनलाई मात्र होइन, त्यस्ता सवारी साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाई समेत कारबाही गरिने बताउँदै उनले थपे , ‘नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई अब प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइनेछ ।’

मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारबाहीको दायरामा ल्याउने घोषणा गरे ।

फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोग बढ्दै गएको बताउँदै पण्डितले अबको एक वर्षमा काठमाडौँमा मास्क लगाएर हिँड्ननपर्ने गरी वातावरण स्वच्छ बनाउने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री पण्डितले वातावरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल उद्योगलाई कारबाही गरिरहेको र अन्यलाई समेत कारबाही गरिने पनि बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा प्रदूषण बढ्दा ऐतिहासिक भक्तपुरको पहिचान गुम्दै गएको र रोगको संक्रमण बढ्दै गएकाले यसलाई रोक्न हनुमन्ते सरसरफाई अभियान शुरु भएको बताए ।

भक्तपुर क्षेत्र नं २ का प्रदेशसभा सदस्य शशीजंग थापाले खोलामा फोहोर फाल्नेलाई कारबाही गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका संयोजक एवं सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले हनुमन्तेलगायत यस नगरपालिकाको कुनै पनि खोलामा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवानासहित कारबाही गर्ने बताए ।

आजबाट शुरु भएको हनुमन्ते सरसफाई अभियान अब हरेक साता शनिबार सञ्चालन हुने भएको छ । आजको सरसफाईमा १० ट्रक फोहोर संकलन तथा व्यवस्थापन गरिएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार