Thursday, November 6, 2025

नेपालमा वायू प्रदूषणका कारण वर्षेनी ३५ हजारको मृत्यु

‘उपत्यकामा वायू प्रदूषणको पहिलो कारण गाडीको इन्जिनबाट निस्कने धुँवा र गाडीले उडाउने बाटोको धुलो रहेको छ भने दोस्रो, फोहोर जलाउने र तेस्रो, उपत्यकाबाहिरबाट आउने प्रदूषण रहेको छ ।’

काठमाडौं, फागुन १७ः नेपालमा वायू प्रदूषणका कारण वर्षेनी ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ ।

सन् २०१६ मा ग्लोबल बर्डेन अफ डिजिजले नेपालमा गरेको अनुसन्धान प्रतिवेदनले प्रत्येक वर्ष वायू प्रदूषणका कारणले अकालमै ज्यान गुमाउने गरेको तथ्याङ्क छ । नेपालमा मात्रै प्रत्येक वर्ष ३५ हजार मानिसको ज्यान गईरहेको र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष दुईदेखि तीन हजारको दरले बृद्धि भैरहेको जर्मनीस्थित इन्स्टिच्यूट अफ एडभान्स्ड सस्टेनेबिलिटी स्टडिज (आईएएसएस) नामक संस्थाको वैज्ञानिक परियोजनाका नेतृत्वकर्ता डा. महेश्वर रुपाखेतीले बताए ।

आज काठमाडौंमा आईएएसएस र लिभेवल काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालमा तत्कालीन अवस्थामा स्वच्छ हावा कतातिर जाँदैछ भन्ने बारेमा वैज्ञानिक बुझाइ’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै डा. रुपाखेतीले भने ‘खराब वायूका कारण मानिसमा विभिन्न रोगहरु लाग्ने र त्यस्ता रोगका कारण प्रत्येक वर्ष नेपालमा ३५ हजारभन्दा बढी र विश्वमा ७० लाख मानिसको मृत्यु हुने गर्दछ ।’

मानिसको मृत्यु कारण धुँवाधुलो नै रहेको पनि उनले बताए । ‘वायू प्रदूषणको मुख्य कारण नै धुलो हो । ८० देखि ९० प्रतिशत धुलोको कारणले नै मानिसहरुको मृत्यु भैरहेको छ,’ उनले भने, ‘अर्को कारण ओजन, नाइट्रोजन अक्साइडजस्ता कुराले मानिसहरुको स्वास्थ्यमा असर गरिरहेको छ ।’

डा.रुपाखेती काठमाडौं उपत्यकामा वायू प्रदूषणको कारण बढ्दो गाडीको चाप रहेको बताउँछन् । ‘उपत्यकाको वायू प्रदूषणको पहिलो कारण गाडीको इन्जिनबाट निस्कने धुँवा र गाडीले उडाउने बाटोको धुलो रहेको छ भने दोस्रो, फोहोर जलाउने र तेस्रो, उपत्यकाबाहिरबाट आउने प्रदूषण रहेको छ ।’

त्यस्तै, उनले काठमाडौं उपत्यकाको वायू प्रदूषण अस्वस्थ रहेको पनि बताए । वायू प्रदूषण कम गर्न वाचा, वायू प्रदूषणसँग काम गर्ने संघसंस्थाले एकअर्कोसँग समन्वय, खाना पकाउन विद्युतीय साधनको प्रयोग, विद्युतीय यातायातका साधन, नीति नियमलाई कडाईका साथ लागुजस्ता काम गरेमा वायू प्रदूषण कम हुने उनी बताउँछन् ।

उनले अबको दुई दशकसम्म दक्षिण एसियामा वायू प्रदूषण बढ्ने सम्भावना रहेको बताए । डा. रुपाखेतीले वायू प्रदूषणले मानिसलाई मात्र नभएर कृषिमा समेत असर गरिरहेको बताए ।

‘बिश्व बैंकले २०१६ मा नेपालमा सार्वजनिक गरेको प्रतिवेदनले २ लाख ५० हजार मेट्रिक टन बाली वायू प्रदूषणका कारण नाश हुन्छ, अर्थात उत्पादनको तीन प्रतिशत बाली नाश हुँदै आएको छ,’ डा. रुपाखेतीले भने ।

ताजा समाचार

सम्बन्धित समाचार