जावलाखेल –१२ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी बिहीबारदेखि ललितपुरमा हुने भएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा जावलाखेल मैदानमा हुने पुष्प प्रर्दशनी मेला चार दिनसम्म चल्ने छ ।
फ्यानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितात्मक प्रर्दशनी मेलाबारे जानकारी दिएको हो ।
सो प्रर्दशनीको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा सहित हुने प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको आयोजक फ्यानले जनाएको छ ।
नजिकिदै गरेको तिहार तथा छठलाई लक्षित गरी आयोजना हुन लागेको पुष्प मेला १८ कात्तिकसम्म चल्नेछ ।
मेलामा पुष्प व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउने लक्ष्य राखीएको छ ।
व्यावसायिक ४४, सूचनामूलक तीन र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी ९ सहित ५६ कक्ष रहने फ्यानका अध्यक्ष कुमार कसजुले जानकारी दिए ।
प्रदर्शनीमा ४५ प्रजातिका फूल तथा विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने फ्यानका अध्यक्ष कसजुले जानकारी दिए ।
प्रदेश सरकार प्रदेश नं. ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेलाअन्र्तगतको प्रतिस्पर्धामा गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने छ ।
करिब ३६ हजारले अवलोकन गर्ने मेलामा करिब ६० लाखको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
‘नेपालमा फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसकेपनि भारतबाटको आयात रोकिएको छैन ’ , फ्यानका अध्यक्ष कसजु भन्छन् , ‘फूलमा आत्मनिर्भर नभएको अवस्थामा नेपालमा यस्ता किसीमका प्रर्दशनी मेला आयोजनाले फूलको उत्पादन बढाउन प्रेरणा दिन्छ ।’
तिहारका लागि विशेष रुपमा प्रगोग हुने गोदावरी, मखमली, सयपत्रीलगायतको फूलको व्यापर बढी हुने भएकाले यी फूलहरू बढी मात्रामा प्रदर्शनीमा राखिने छ ।
गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएको थियो ।
नेपालमा करीब ७०० व्यक्ति र संस्थाले फूल व्यवसाय गरेको रेकर्ड फ्यानसँग छ ।
करीब दुई हजार ९६० रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको उनी बताउछन् ।
उनका अनुसार फूल व्यवसाय आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।
विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै ब्यवसायिक पुष्प खेती शुरु भएको मानिन्छ ।





