गहुँ लगाउने बेला पश्चिमी क्षेत्रमा मलको अभाव

काठमाडौँ–धानबाली भित्र्याएर हिउँदेबाली लगाउने तयारी भइरहेका बेला मुलुकको पश्चिमी क्षेत्रमा रासायनिक मलको अभाव देखिएको छ।

धान काटेर, गहुँ, तोरी, मुसुरो छर्ने तथा आलु लगाउने बेलामा डिएपी, युरिया र पोटास मलको अभाव भएको कृषकहरूको गुनासो छ।  विशेषगरी, सुदूरपश्चिम र प्रदेश ५ का तराई क्षेत्रमा धानबाली भित्र्याएर हिउँदेबाली लगाउने तयारी भइरहेका बेला मल अभाव हुँदा किसान समस्यामा परेका हुन्।

कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले ३० प्रतिशत रासायनिक मल विक्रीवितरण गर्दै आएकोमा दुवै संस्थानमा अभाव हुँदा किसानहरू भारतीय सीमा बजारको भर पर्न बाध्य भएका छन्।

लिमिटेडको धनगढीस्थित क्षेत्रीय कार्यालय प्रमुख दुर्गा पाण्डे ठेकेदारको लापरवाहीका कारण रासायनिक मलको अभाव भएको तर्क गर्छन। ‘भैरहवाबाट मल आपूर्ति गर्दै आएकोमा ठेकेदारले धोका दिइरहेका छन्, कहिले गाडी भएन भन्छन् कहिले अरु बहाना बनाउँछन्,’ पाण्डेले भने, ‘उनीहरूको लापरवाहीले गर्दा कृषक मर्कामा परिरहेका छन्।’

पूर्वको तुलनामा पश्चिम क्षेत्रमा डेढ महिना अगाडि नै खेतीबाली शुरु हुने र त्यसका लागि सरकारले यथेष्ठ मल उपलब्ध गराउन नसकेको उनको भनाइ छ। ‘पूर्वमाभन्दा एक डेढ महिना अगाडि नै पश्चिममा खेती शुरु हुन्छ, अहिले तत्काललाई पूर्वमा मलको आवश्यकता छैन्, यस्तो अवस्थामा सरकारले पूर्वको मललाई पश्चिममा पठाउने हो भने यहाँको समस्या समाधान हुन्थ्यो,’ उनले भने, ‘पूर्वमा एक महिनापछि आउने मलले काम चलाउन सकिन्छ नि। यहाँ त अहिले नै आपत परिसक्यो।’

कम्पनीको अर्को क्षेत्रीय कार्यालय वीरगञ्जमा पनि पोटास मलकोे अभाव रहेको त्यहाँका क्षेत्रीय प्रमुख अजयकुमार श्रीवास्तव बताउँछन्। ‘हाम्रो क्षेत्रमा डिएपी र युरिया मलको खासै अभाव त देखिएको छैन, तर पोटासको अभाव छ,’ उनले भने, ‘माथिल्लो निकायलाई जानकारी गराउँदा जहिले पनि आउँदै छ भन्छन् कहिले आउँछ थाहा छैन।’ कृषक पोटास खोज्न दैनिक जसो आउने गरेको उनले बताए।

लिमिटेड केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक अम्बरराज खयर हिउँदेबाली लगाउने समय शुरु भएपनि पूर्ण रूपले कतै पनि मल उपलब्ध गराउन नसकिएको स्वीकार गर्छन। सरकारले नै माग अनुसारको मल आपूर्ति गर्न नसकेको उनको भनाइ छ।

प्रबन्ध निर्देशक खयरले देशभर वर्षेनि ७ लाख मेट्रिक टन मल आवश्यक पर्नेमा सरकारले जम्मा तीन लाख मेट्रिक टन मात्र खरिद गर्ने गरेकाले मलको अभाव देखिएको बताए। ‘आवश्यकताको आधाभन्दा बढी मल खरिद गर्न सकिएको छैन, त्यसैले मलको अभाव देखिने नै भयो,’ उनले भने, ‘तर पनि सकेसम्म सबैतिर पुर्याउने प्रयास गरेका छौँ।’

बजेटको अभाव
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी वर्षेनि रासायनिक मलको अभाव हुनुको मुख्य कारण बजेटको कमी रहेको बताउँछन्। सरकारले मल खरिद गर्न पर्याप्त बजेट नछुट्याउनु नै मल अभावको मुख्य कारण रहेको उनको भनाइ छ।

‘हामीलाई जति मल चाहिने हो त्यति खरिद गर्न बजेट छैन, सरकारले मल खरिदका लागि आवश्यक पर्ने बजेट छुट्याएको छैन,’ उनले भने, ‘पैसा नै नभएपछि कहाँबाट खरिद गर्नु।’

ताजा समाचार

सम्बन्धित समाचार