बागलुङ– जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १ सय ३० घरमा धारा जडान गरिदिएको छ।
खानेपानी अभाव भएको गाउँपालिकाको वडा नम्बर १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना सम्पन्न भएपछि पानी भर्नकै लागि लाग्ने समय बचत भएको स्थानीय उपभोक्ताको भनाइ छ। ‘पानी भर्नकै लागि घण्टाैं समय लाग्दथ्यो,’ स्थानीय उपभोक्ता कुमार विक भन्छन्, ‘घरमै खानेपानीको धारा आउला भनेर कल्पनासमेत गरेको थिइन।’
कादुरीको ४९ लाख ७५ हजार २ सय र स्थानीय उपभोक्ताको १४ लाख ६६ हजार ३ सय बराबरको जनश्रमदान गरी कूल ६४ लाख ४१ हजार ५ सय लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको स्याउला खानेपानी आयोजनाका अध्यक्ष दलप्रसाद पुनले बताए। गाउँदेखि डेढ किलोमिटर टाढा सेम्बाङ खोलाको मुहानबाट पानी ल्याएर मिटरसहितको ‘एक घर एक धारा’ जडान गरिएको खानेपानी आयोजनाले जनाएको छ।
‘स्याउला गाउँमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘कादुरीको सहयोगमा बनेका एक घर एक धाराबाहेक स्याउला गाउँको तल्लो भेगमा उस्तै किसिमको धारा बनाउन गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरेको छ।’
अहिले स्याउला गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीय हर्षित भएका हुन्। आयोजनाका १ सय २२ धारामा मिटर जडान गरिएको छ । सार्वजनिक धारामा मिटर जडान गरिएको छैन। रासस





