काठमाडौं–एक सय मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको विजुली नेपाल विद्युत प्राधिकरणले किन्ने भएको छ।
प्राधिकरण र प्रवद्र्धक ब्लु इनर्जी प्राइभेट लिमिटेडबीच विजुली खरिदबिक्री सम्झौता (पीपीए) भएसँगै विजुली बजार निश्चित भएको हो। प्राधिकरणले सो आयोजनाबाट वर्षातको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विजुली किन्नेछ।
१६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पीपीए भएसँगै अब लगानी जुटाएर निर्माण काम शुरु गरिने ब्लु इनर्जीका निर्देशक निरन्जन रेग्मीले जानकारी दिए। उनका अनुसार सन् २०१९ को अक्टुबरदेखि निर्माण थालिनेछ, भने सन् २०२४ को फ्रेबअरीसम्म विजुली बल्ने छ।
आगामी जनवरीसम्म निर्माण कम्पनी छनोट गरिसक्ने तयारी भएको रेग्मीले बताए। सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ।
आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ। नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ।





