Friday, November 8, 2024

कलंकी–कोटेश्वर सडकमा छैन जेब्राक्रस र ट्राफिक लाइट

काठमाडौं– चक्रपथ सुधार आयोजना अन्तर्गत कलंकी–कोटेश्वर सडक निर्माण भएपनि जेब्राक्रस र ट्राफिक लाइट बनाइएको छैन।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा कोटेश्वर चोकबाट ग्वार्को, सातदोबाटो, बल्खु हुँदै कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरियो। तर, पैदलयात्रुका लागि अहिलेसम्म जेब्राक्रस बनाइएको छैन।

एक त गाडीको हुइँकाइ अनि बाटो काट्नका लागि जेब्राक्रस नहुनु पैदलयात्रीका लागि जोखिमपूर्ण बनेको छ। जेब्राक्रस नहुँदा पैदलयात्रुले मनलाग्दी ढंगबाट बाटो काट्ने र सवारी साधनको गति पनि तीव्र हुने हुँदा बेला बेलामा उक्त सडकखण्डमा दुर्घटना हुने जोखिम रहने बताइएको छ।

उक्त सडकको निरीक्षण गरिरहेको चक्रपथ सुधार आयोजना निर्माण कार्य अझै बाँकी भएकाले जेब्राक्रस नबनेको र अबको केही महिनामै जेब्राक्रस तथा रंगरोगनको काम सम्पन्न हुने बताउँछ। आयोजनाका एक अधिकारी सडक निर्माण कार्य सम्पन्न नभएकाले जेब्राक्रस तथा रंगरोगनको काम नभएको बताउँछन्। यसका साथै कंलकी–कोटेश्वर सडकखण्डमा १० वटा आकाशे पुल बनाउने लक्ष्य छ।

सडकखण्डमा अहिले जम्मा तीन वटा मात्र आकाशे पुल बनेका छन्। यसका साथै उक्त सडक खण्डमा ट्राफिक लाइट पनि जडान गरिएको छैन। चीनले सडक र तीन वटा पुल मात्र निर्माण गर्ने सम्झौता भएकोले सडक हस्तान्तरण गरेपछि मात्र लाइट तथा अन्य संरचनाको विषयमा छलफल गरिने ती अधिकारीको भनाइ छ।

कंलकीदेखि बल्खुसम्मको सडक निर्माण गर्न बाँकी रहे पनि बल्खुदेखि कोटेश्वरसम्मको भने सम्पूर्ण काम पूरा भइसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार