राजविराज – सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन्। सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ।
सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गरे।
खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान बाध्य छन्। जोगिया, बराहा, सारसर, नेङडा, धनगढी, काचन, देउरी, फुलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट ती क्षेत्रका बासिन्दा बञ्चित छन्।
यस्तै जिल्लाको खडक नगरपालिकास्थित कल्यानपुरमा समेत खानेपानीको अभाव भएको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कल्यानपुरमा खानेपानीको अभाव भएको स्थानीय वीरेन्द्र साहले बताए।
पानीको मुहानसमेत सुक्न थालेपछि खानेपानीको अभाव भएको हो । सो क्षेत्रमा खानेपानीको काम शुरु नभएका कारण पनि त्यहाँका जनता खानेपानीबाट बञ्चित भएको उनले बताए। रासस