थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ – दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ ।

६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखौँ रुपैयाँ बचत गर्न सफल भएको छ । त्यसबाट थारू समुदायका महिला आर्थिक रूपमा सक्षम बन्दै गएका छन् ।

वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा दुना–टपरी उद्योग खोलेका भैस्सकोर्माका महिलाले त्यसैबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

अहिले सो उद्योगबाट आफूहरूले रु पाँच लाख २६ हजार बचत गर्न सफल भएको बताउछिन् उद्योग सञ्चालक समितिका अध्यक्ष फुलकुमारी चौधरी ।

शुरुमा उद्योग कसरी सञ्चालन होला, चल्दैन कि भन्ने चिन्ता थियो । त्यसमा पनि दुना–टपरीबाट पैसा आर्जन गर्ने सकिएला र ? भन्ने आशङ्का थियो । तर, अहिले राम्रो आम्दानी गर्न सफल भएका छौँ, फुलकुमारीले भनिन् ।

सबै मिलेर खोलेको हुँदा सामूहिक कामले सफल गराउँदोरहेछ भन्ने विश्वास बढेको बताउछिन् उक्त उद्योग सञ्चालक समितिका सदस्य तेजकुमारी चौधरी ।

“सामूहिक रूपमा खोलिएको दुना–टपरी उद्योगबाट बचत भएको रकम सहुलियत दरमा गाउँमै ऋण लगानी गरेका छौँ”, तेजकुमारी चौधरीले भनिन् । “समूहमा आबद्ध भएका महिलाले छोराछोरीको पढाइ खर्च, औषधि तथा घर खर्च आवश्यक परेमा पैसा निकालेर खर्च गर्छौँ, आफूसँग पैसा भएपछि ल्याएर उद्योगमा दिन्छाँै”, उनेले भनिन् ।

सदस्य चौधरीका अनुसार अहिले दुना–टपरीको माग निकै बढेको छ । गाउँघर वा शहरबजार जहाँ पनि दुना–टपरी निकै प्रयोग हुने गरेका छन् । तर पनि उद्योगका केही समस्या छन् ।

पहिला त पातहरू घर नजिकैका जङ्गलमा पाइन्थे तर अहिले तीन÷चार घण्टा पैदल हिँडेर पात ल्याउनुपर्छ, तेजकुमारीले भनिन् ।

त्यस्तै महिलाले खोलेको उद्योग भन्दै सामुदायिक वन र सङ्घ संस्थाबाट मेशिन पनि प्राप्त गरेका छाँै, उनले भनिन् । हेर्दा सामान्य लागेता पनि दुना–टपरी उद्योगबाट पनि लाखौँ कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । यी महिलाको सिको अन्य महिलाले पनि गर्ने हो कि ?   (रासस)

ताजा समाचार

सम्बन्धित समाचार