नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

जुम्ला–नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ ।

सडक स्तरोन्नतिमा ढिलाइ हुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीय यात्रुको आवागमनसमेत असहज बन्दै गएको हो । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा यात्रुले सास्ती पाएको भन्दै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत, कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया र नेकपा जुम्लाका नेता पूर्णप्रसाद धितालसहितको टोलीले उक्त सडकखण्डको स्थलगत अनुगमन गरी निर्माण कार्यलाई गतिदिन डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिएको छ ।

अनुगमनका क्रममा सडक गुणस्तरहीन देखिएको र अहिले राख्न थालिएको ग्राभेल सामग्री पनि मापदण्ड बमोजिम नभएको प्रतिनिधिसभा सदस्य महतले जानकारी दिए । । “सडकको निर्माणका कार्य धिमा गतिमा छ”, उनले भने , “तोकिएको मापदण्डअनुसार सडकमा ग्राभेल नराखिएकाले जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय जुम्लालाई एकै ठाउँमा राखेर जिम्मेवार कम्पनीलाई कमसल सामग्री सडकमा राख्ने कार्य रोक्न निर्देशन दिएका छौँ ।”

प्रदेशसभा सदस्य रोकायाले नाग्म–गमगढी राजमार्गमा प्रभावकारी काम नभएकाले यस कार्यमा सम्बन्धित निकाय क्रियाशील र पारदर्शी भएर लाग्न आग्रह गर्नुभयो । कर्णाली प्रदेश सरकारले शुभारम्भ गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ लाई समेत प्रभाव पर्ने र जनताको सहज यातायातको अधिकार हनन् हुने गरी सडक गुणस्तर कायम गर्न खोजिए जिम्मेवार जोकोहीलाई पनि नछाड्ने प्रतिवद्धता उनीहरुले जनाए ।

१८ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएका कम्पनीले कमसल सामग्री राखेमा र दुई लेनको सडक निर्माण नगरेमा भुक्तानी नहुने सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराले  बताए । । “मापदण्ड बमोजिम काम गर्न र कार्यशैली परिवर्तन गर्न हामीले असोज २१ गते कम्पनीलाई पत्राचार गरिसकेको छौँ”, इञ्जिनीयर महताराले भने , “निर्माण भएका संरचनाको अवस्था, योजनाको मूल्याङ्कन प्रतिवेदन उपलब्ध गराउन, सडकको इक्जिङ सर्भे प्रोफाइल, डिजाइन स्वीकृति गरी ग्राभेलिङ गर्नुपर्ने समेतका बुँदामा निर्देशनात्मक पत्राचार गरिएको छ ।”

उनका अनुसार ग्राभेलका लागि नाग्म–बड्कीसम्म (१३ किमी) सडक हिम्दुङ्ग थोक हिरा नमिता जेभीले रु सात करोड ९० लाख ९५ हजारमा र १३ दशमलव एक किमि देखि १७ दशमलव पाँच किमी सडक थोदुङ्ग निर्माण प्रालिले रु दुई करोड ३० लाख ३४ हजारमा ठेक्का पाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापालले सडकको अवस्थाको बारेमा बुझेर निर्माण कम्पनीलाई पत्रचार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । निर्माण कार्यमा गुणस्तरहीन र तोकिएको अवधिमा सम्पन्न नगर्ने कम्पनीलाई कारवाही गर्न प्रशासन प्रतिबद्ध रहेकोे बुढ्थापालले जनाए ।

९१ किलोमिटर दूरीको नाग्म–गमगढी सडकको करीब १८ किलोमिटर स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ्ग थोक हिरा नमिता जेभीले ३५ महीनाभित्र सम्पन्न गर्ने अवधि राखेर विसंं २०७२ माघ १० गते र थोदुङ्ग निर्माण प्रालिले २२ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने भन्दै २०७३ जेठ २७ गते सम्झौता गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार