काठमाडौं, फागुन १६ः जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गरेर अपराध गर्नेलाई दण्डित गर्ने बताएका छन् ।
‘गलत गर्नेहरुलाई दण्डित गरेर अगाडि बढ्छु । स्वस्थ, खुसी र सम्पन्न जीवन दिने बाटोमा लागिराखेको छु,’ मन्त्री पण्डितले भने, ‘साँच्चै मैले अपराध गरेको छु भने तपाई अपराधी हो भन्नुहोला । होइन भने अपराध गर्नेलाई म छोड्दिन । दण्डित गर्छु र दण्डित गर्दा सही बाटोमा आउँछन् ।’
आज काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र दि एसिया फाउण्डेसनको संयुक्त आयोजनामा ‘सामुदायिक मेलमिलाप’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री पण्डितले वातावरण प्रदुषण गर्नेलाई कारवाही गर्ने निर्णयप्रति धेरै छटपटाइरहेको बताए ।
‘देश र जनताको भलाईका निम्ति निर्णय गर्छु । लालबाबु पण्डितले बर्बाद गरे हामीलाई नसोधी निर्णय गर्ने भन्दै छटपटाईरहेका छन् । उचित कानुनसम्मत निर्णय गरिसकेपछि को छटपटाउँदै गर्छ, को मर्दै गर्छ, को बाँच्दै गर्छ,’ मन्त्री पण्डितले भने, ‘म बचाउनेको पक्षमा छु । म मार्नेको र छटपटाउनेको पक्षमा छैन ।’
मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) का मापदण्ड पुरा नगरी सेवा सञ्चालन गरेको र सेवा विस्तार गर्ने उद्योगलाई कारवाहीको निर्णयप्रति सबैको साथ सहयोग पाउने विश्वास आफुले लिएको बताएका छन् ।
उनले आफु सामान्य प्रशासन मन्त्री हुँदा नेपालीले विदेशी पासपोर्ट बोक्छ भने उ नेपाली होइन भन्दै कामको थालनी गरेकोे अनुभव समेत सुनाए ।
मन्त्री पण्डितले एक वर्षभित्र काठमाडौंमा मास्क नलगाई हिड्न सक्ने वातावरण सृजना गर्ने बताएका छन् ।