पर्वत – यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ। वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ भएको हो।
जिल्लाको कूल नौ हजार २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमा व्यस्त हुन थालेका छन्। जिल्लामा स्थानीय छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धानखेती हुँदै आएको छ। गत वर्ष १० प्रतिशतले उत्पादन बढेको धान यस वर्ष पनि अनुकूल मौसमका कारण १० प्रतिशतले नै वृद्धि हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।
कार्यालयका अनुसार यस वर्ष समयमै रोपाइँ गर्न पाइएको र अनुकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो। धानखेती राम्रो भएकाले कृषकहरू उत्साहित छन्। धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाइँ र पछिल्लो समयसम्म निरन्तर परेको वर्षाका कारण उत्पादन बढ्ने देखिएको उक्त केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। थन्क्याउने बेलासम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन निकै राम्रो छ उनले भने।
जिल्लामा रहेको करीब २८ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २० हजार हेक्टर जमीनमा धानखेती हुने उक्त केन्द्रले जनाएको छ। पर्वतका अधिकांश जमीनमा अहिले पनि आकाशे पानीको भर पर्नुपरेकाले केहीले खेतबारी बाँझै राख्ने गरेका छन्। रासस