Thursday, November 7, 2024

देशैभर चिसो बढ्यो, माइनस १ डिग्रीसम्म पुग्न सक्ने

काठमाडौँ – केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर चिसो बढेको छ। अघिल्ला वर्षका तुलनामा यो वर्ष चाँडै चिसो बढेको मौसमविदहरूको भनाई छ।

जल तथा मौसम विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार विगतको तुलनामा यो वर्ष चाँडै नै चिसो बढेको छ। विगत ३० वर्षको आंकडा हेर्ने हो भने कात्तिकको पहिलो हप्ताको तापक्रम ११ डिग्री सेल्सियस छ। तर, यो वर्ष तापक्रम ३ डिग्री घटेर ८ डिग्रीमा पुगेको छ। मनसुन सकिएको केही समयमै चिसो बढ्नु अस्वभाविक भएको महानिर्देशक शर्माको भनाई छ।

‘गत वर्षको तुलनामा यस वर्ष अलि छिट्टै नै चिसो सुरु भयो, पोहोर कात्तिकको पहिलो हप्ताको तापक्रम ११ डिग्री सेल्सियस थियो । तर यसपाली ८ डिग्रीमा झरेको छ,’ उनले भने, यसपाली असोजदेखि नै चिसो बढ्दै गएको हाे।’

उनी यो वर्ष चिसाे अझै बढ्न सक्ने बताउँछन्। यो वर्ष तापक्रम माइनस १ डिग्री सेल्सियस भन्दा तल पुग्न सक्ने उनको अनुमान छ । ‘अहिलेको तापक्रम र मौसमलाई हेर्ने हो भने यसपाली पुस–माघको तापक्रम माइनस १ डिग्री भन्दा तल पुग्न सक्ने देखिन्छ,’ उनले भने।

मौसमविद वरुण पौडेल विगतको तुलनामा यसपाली चाँडै चिसो बढ्नुको मुख्य कारण मौसम सफा हुनु भएको बताउँछन्। ‘अहिले मौसम सफा छ, मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा यसपाली चाँडै नै चिसो बढेको हो,’ उनले भने, ‘यो सँगै उत्तर पश्चिमबाट चिसो हावा पनि आउन थालेको छ ।’ राती आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने उनको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार