ललितपुर–धुलाम्य सडकको उचित व्यवस्थापनसहित कालोपत्रेको माग राख्दै लललितपुरको चापागाउँका बासिन्दा संघर्षमा उत्रिएका छन्।
गोदावरी नगरपालिका–१० र ११ मा पर्ने चापागाउँ क्षेत्रका सडकमा अत्याधिक मात्रामा धुलो उड्न थालेको भन्दै उनीहरु संघर्षमा उत्रिएका हुन्।
सडक कालोपत्रे नहुँदा ठाउँठाउँमा खाल्डाखुल्डी पर्नुका साथै धुलो उड्ने समस्या बढेको छ। जसकारण सडक छेउका स्थानीय र बटुवाको स्वास्थ्यमा असर परेको भन्दै उनीहरुले बुधबारदेखि सडक हड्ताल गरेका हुन्।
सडक वरपरका पसलमा नै असर गरेको भन्दै उनीहरुले पनि हड्ताललाई सघाएका छन्। लगनखेल, रत्नपार्क जाने निजी तथा सार्वजनिक सवारीसाधनलाई बिहान १० बजेसम्म गुड्न नदिइएको स्थानीय सन्तोष लामिछानेले बताए।
दशैँ अघि नै सडक मर्मत गर्दै कालोपत्रे गर्ने आश्वासन नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले दिएपनि दशैँ सकिदा पनि काम सुरु नभएकोमा उनीहरुको आक्रोश छ।
सडक दशै अघि नै कालोपत्रे हुनुपर्नेमा नभएपछि यसरी जन दबाब आउनु स्वभाविक भएको वडा नम्बर १० का वडा अध्यक्ष दर्शन विष्टले बताए।
यस विषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा जनप्रतिनिधिसहितसँग छलफल हुने उनले बताए।