आज प्रकाशित पत्रपत्रिकाले वन,वातावरण र विकास सम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
कान्तिपुर
‘सेतोचिनी चोरी निकासी’शीर्षकमा भीमबहादुर सिंले लेखेको समाचार छापिएको छ ।
जिल्लाका विभिन्न लेकबाट बहुमूल्य जडीबुटी सेतोचिनी चोरी–निकासी भएको छ । स्थानीय बासिन्दा र सरोकारवालाको मिलेमतोमा बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका लेकबाट सेतोचिनी संकलन र निकासी भएको हो ।
बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियाबाल्न, देउरालीपाटन, ठाकुरजी, कराइचुला, खुम्बु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाँडा, ब्युलीढुंगा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन र नलगाड नगरपालिकाको सिउन, रूप, मंसिरीलगायत लेकबाट सेतोचिनी चोरी–निकासी भएको छ ।
‘निजगढ विमानस्थलःअनुगमन फेरि स्थगित’शीर्षकमा घनश्याम खड्काले लेखेको समाचार छापिएको छ
संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले बुधबारलाई तय गरेको प्रस्तावित निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्ययन भ्रमण स्थगित भएको छ । कोजाग्रत पूर्णिमा परेको भन्दै केही सांसदले जान नसक्ने जनाएपछि अन्तिम समयमा स्थगित गर्नुपरेको समितिले जनाएको छ ।
विमानस्थल निर्माणका लागि ठूलो मात्रामा रूख काटिँदा पर्यावरणमा असर पर्ने भन्दै विवाद बढेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमिति बैठकले कात्तिक ४ गते स्थलगत अध्ययनमा जाने निर्णय गरेको थियो तर उक्त दिन टीको परेकाले पायक नहुने भन्दै कात्तिक ७ गतेलाई सारिएको थियो ।
‘नगरको प्रवेश सडक खाल्डैखाल्डा’शीर्षकमा टीकाप्रसाद भट्टले लेखेको समाचार छापिएको छ ।
नगर सहरको चिनारी हो, तर रामेछापको मन्थली नगरपालिकालाई भने नगर पस्नै बेलाको सडकले गिज्याइरहेको छ । मन्थली प्रवेश गर्न लाग्दा हिलो र धुलो मात्र हैन, ठुल्ठूला खाडल परेको सडकका कारण नगरपालिका प्रवेश गर्नेले नगरको विकासबारे नराम्रो धारणा वनाउने गरेका छन् ।
रणजोर खोलादेखि मदन भण्डारीचौकसम्मको सडक बिग्रेको पूरा चार महिना भयो । पुष्पलाल मार्गमा पर्ने उक्त खण्डमा सडक चौडा पार्ने र ढल हाल्ने कार्यका लागि सडक डिभिजन र बजार व्यवस्थापन समितिले सडक खने । स्थानीयले खनेको भागमा तत्काल सडक सुधार गर्नका लागि माग गरे पनि हालसम्म सडक भताभुंग नै छ ।
‘काठमाडौंमा वायु प्रदूषणको स्तर’शीर्षकमा प्रा. रामप्रसाद रेग्मीको विचार छापिएको छ। यति बेला काठमाडौं उपत्यका सुन्दर, शान्त र रमणीय छ । आकाश खुला छ, वरिपरिका हरिया पहाड तथा हिमाल छर्लङ्ग देखिएका छन ।
तर अब जाडो छिप्पिँदै जाँदा प्रदूषण बाक्लिँदै जान्छ । श्वास प्रश्वास, रुघाखोकी, दम तथा निमोनियाजस्ता रोगव्याधिको चिन्ता पनि मानिसमा बढ्दैछ । काठमाडौं उपत्यकाको वायुमण्डलीय अवस्थिति वायु प्रदूषणका दृष्टिले जाडो याममा अत्यन्त प्रतिकूल रहन्छ ।
अन्नपूर्ण पोस्ट
‘खाऊँ किरा, नखाऊँ भोकै’शीर्षकमा समाचार छापिएको छ ।
‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।
नागरिक
‘सडकले जोडिँदै नेपाल–सिक्किम’शीर्षकमा गिरिराज बाँस्कोटाले लेखेको समाचार छापिएको छ।
नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ।
‘मुस्ताङमा एकैदिन चार हजार पर्यटक’शीर्षकमा सन्तोष पोखरेलले लेखेको समाचार छापिएको छ।
प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ। यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ। मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे। दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेका हुन्।सल्यान विमानस्थल निर्माण हुँदै शीर्षकमा पनि समाचार छापिएको छ ।
राजधानी
‘विकास खर्च तीन महिनामा ६ प्रतिशत मात्र’शीर्षकमा शिव दुवाडीले लेखेको समाचार छापिएको छ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा विकास बजेट खर्च अत्यन्तै न्यून रहेको छ । यस अवधिमा महिनाको २ प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिनामा पुँजीगत बजेटतर्फ जम्मा १७ अर्ब ३९ करोड रुपैयाँ खर्च भयो । यो रकम कुल विकास बजेटको तुलनामा ५ दशमलव ५१ प्रतिशत हो । यो तथ्यांकले सरकारले प्रतिमहिना २ प्रतिशतभन्दा कमको दरले पुँजीगत खर्च गरेको देखिन्छ । चालू आवको बजेटमा ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विकास बजेट विनियोजन गरिएको छ ।
‘अन्तर्राष्ट्रिय उडान मोफसलमा केन्द्रित गरिने’ शीर्षकमा मधुजंग पाण्डेले लेखेको समाचार छापिएको छ।
सरकारले अन्तर्रा्ष्ट्रिय उडान लुम्बिनीमा केन्द्रित गर्ने लक्ष्य लिएको छ । जसका कारण अब विभिन्न मुलुकसँग हुने हवाई सम्झौता र त्यसको नवीकरणमा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राख्ने भएको छ ।
‘चिनियाँ कम्पनीसँग दुई नगरपालिकाको सम्झौता’शीर्षकमा समाचार छापिएको छ ।
एजिलिटी इन्टरनेसनल होल्डिङ लिमिटेडले दुईवटा नगरपालिकासँग भौतिक पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको विकास गर्नेगरी सम्झौता गरेको छ । बुधबार चीनको एजिलिटीले शंखरापुर नगरपालिका र चाँगुनारायण नगरपालिकासँग सम्झौता गरेको हो ।
गोरखापत्र
‘विद्युतीय बसका लागि चार्जिङ स्टेसनको कमी’शीर्षकमा प्रसाद यादवले लखेको समाचार छापिएको छ ।
वातावरणको संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि शुभारम्भ गरिए पनि ती बसहरूलाई चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेशन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो । त्यस बाहेक उपल्यकामा कुनै पनि ‘चार्जिङ स्टेसन’ छैनन् ।
पानीको राजनीति अन्त्य र बाघको संख्या पाँच गुणले बृद्धि शीर्षकमा पनि समाचार छापिएको छ।





