Thursday, November 7, 2024

थप भएका वडामा ढल व्यवस्थापन गर्दै ललितपुर महानगर

ललितपुर – ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ। महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले ढल व्यवस्थापनको योजना बनाएको हो।

ढल व्यवस्थापनका लागि यस वर्षको बजेटमा रु १० करोड बजेट छुट्टाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। कतिपय नगरका भित्री भाग त धेरै चक्रपथभन्दा बाहिरी भागमा ढल व्यवस्थापन गर्ने महानगरपालिकाको योजना छ।

नगरका भित्री भागमा अधिकांश स्थानमा ढलको व्यवस्था भए पनि नयाँ थप भएका स्थानमा भने ढलको व्यवस्था छैन । यीमध्ये अधिकांश स्थानमा सडक निर्माण भइरहेको छ । उनले भने, “एकातिर सडक निर्माण कार्य भइरहने र अर्कातिर ढल नहुँदा स्थानीयवासी हैरान छन्।”

महानगरपालिकाले आन्तरिक स्रोतबाट नै ढल व्यवस्थापनका लागि रकम छुट्टाएको हो। कुनकुन स्थानमा बढी आवश्यक छ भन्ने अन्तिम निर्णयका लागि अध्ययन भइरहेको छ। उनले भने, “पहिले ढल नै नभएका स्थानलाई बढी प्राथमिकता दिइएको छ भने नगरका भित्री भागमा पनि आवश्यक ठाउँ हेरेर काम हुनेछ।”

उपमहानगरपालिका हुँदा २२ वडा भएकामा महानगरपालिका भएसँगै २९ वटा वडा भएका छन्। यसअघि थप सात वडामा फोहरमैला सङ्कलन र ढल व्यवस्थापन दुवैमा महानगरपालिकाले काम गरेको थिएन। रासस

ताजा समाचार

सम्बन्धित समाचार