भीमदत्तनगर–घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् ।
गत भदौदेखि यहाँको शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडाका हात्ती पीडित किसानले इलाका प्रहरी कार्यालय झलारीमा मात्रै क्षतिपूर्तिका लागि करीब ३०० ले निवेदन दिएका छन् ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले हात्ती पीडित किसान क्षतिपूर्तिका लागि दैनिक आउने गरेको बताए । “हामीले स्थलगत निरीक्षण र कागजी प्रक्रिया पु¥याएर क्षतिपूर्तिका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा फाइल पठाउने गरेका छौँ ।” उनले भने, “यहाँका विभिन्न वडामा किसान र स्थानीयवासी हात्तीबाट पीडित बनेका छन् ।”
उहाँले दुई महीनाको अवधिमा शुक्लाफाँटा नगरपालिकामा एक दर्जन सामुदायिक र निजी घर/टहरा भत्काएको समेत जानकारी दिनुभयो । हात्ती धपाउन स्थानीय तहले विभिन्न वडामा पटाका समेत उपलब्ध गराएको छ ।
शुक्लाफाँटा नगरपालिका १, २, ३, ४, ७, ८, ११, १२ लगायतका वडामा हात्तीले बढी क्षति पु¥याएको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका कार्यालयमा पनि ५६ किसानले क्षतिपूर्तिका लागि निवेदन दिएको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए ।
“हामीले गत वर्ष पनि किसानलाई राहतस्वरुप केही रकम वितरण गरेका थियौँ ।” नगरप्रमुख ऐरले भने, “गत वर्ष राहतमा मात्रै रु साढे पाँच लाख नगरपालिकाले वितरण गरेको थियो ।” गहुँ, उखु, र घर भत्किाएका करीब ३०० भन्दा बढी परिवारलाई गत आव २०७४/०७५ मा कार्यपालिकाबाट निर्णय गरेर रु दुई हजारका दरले वितरण गरिएको नगरप्रमुख ऐरले बताए।
हात्ती गाउँ पस्न नदिन दिगो व्यवस्थापनका लागि विद्युतीय तारजाली लगाउने विषयमा पनि रु २५ लाख नगरपालिकाले बजेट विनियोजन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले क्षतिको अवस्था हेरेर राहत दिँदै आएको छ । रासस





