Thursday, November 7, 2024

भारतमा तीन वर्षमा रेलले किचेर ५० हजारको मृत्यु

काठमाडौँ – विगत तीन वर्षमा भारतको विभिन्न स्थानमा भएको रेल दुर्घटनामा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

भारतीय रेलसेवाले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१५ देखि २०१७ सम्ममा रेलले किचेर ५० हजारले ज्यान गुमाएका छन्। उक्त तथ्यांकमा तीन वर्षमै बाटो काट्ने क्रममा रेलले किचेर यति धेरै मानिसले ज्यान गुमाएको बताइएको छ।

भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेकाे हाे ।

रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरूको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरूको मृत्यु भएको बताइएको थियो।

पछिल्लो तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो। भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुने मृत्युको दरमा भने कुनै कमी आएको छैन।

भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन्।

ताजा समाचार

सम्बन्धित समाचार