Thursday, November 7, 2024

 फोहोर न्यूनीकरण गर्न भीमदत्तवासीलार्इ बाल्टी वितरण

महेन्द्रनगर – स्थानीयवासीले जथाभावी फाल्दै आएको फोहोर न्यूनीकरण गर्न भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका नगरवासीलाई बाल्टी वितरण गरेको छ।

बजार क्षेत्रका घरधनीले सडक र पेटीमा फोहर फाल्दै आएपछि नगरपालिकाले जथाभावी फोहोर नफाल्न आग्रह गर्दै बाल्टी वितरण गरेको हो । घरमा उत्पादन हुने फोहरलाई व्यवस्थापन गर्न बाल्टी वितरणको कार्यक्रम शुरु गरिएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताए। उनले पहिलो चरण अन्तर्गत महेन्द्रनगर बजारको गल्ली नं. १, गल्ली नं. २, गल्ली नं. ३, गल्ली नं. ४ र गल्ली नं. ५ का घरपरिवारलाई बाल्टी वितरण गरिने बताए।

महेन्द्रनगर क्षेत्रका ६ सय ५० परिवारलाई बाल्टी वितरण गरिने नगर प्रवक्ता पाण्डेयले बताए। ‘प्रत्येक घरपरिवारलाई दुई ओटा बाल्टी वितरण गरिरहेका छौं, कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि दुई बाल्टी दिइरहेका छौं,’ उनले भने। दोस्रो चरणमा अन्य क्षेत्रमा पनि बाल्टी वितरण गरिने प्रवक्ता पाण्डेयले बताए।

उनले मंगलबार गल्ली नम्बर १ का १ सय १० परिवारलाई बाल्टी वितरण गर्ने बताए। ‘अब जथाभावी फालिने फोहर नियन्त्रण हुन्छ, वातावरण पनि स्वच्छ हुन्छ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार