Friday, November 22, 2024

चैतदेखि देशभरका बीस वर्ष पुराना गाडी चलाउन नपाईने

खेमा बस्नेत

ललितपुर, फागुन १५ः बीस वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण बढ्न थालेको भन्दै यातायात व्यवस्था विभागले यहि चैतदेखि त्यस्ता सवारी साधन गुडेमा जफत गरि लिलाम गर्ने निर्णय गरेको छ ।

देशभर गुडिरहेका बीस वर्ष पुराना यातायात साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना बढिरहेकोले चैतदेखि विभागले हटाउने निर्णय गरेकोे हो । ‘पुराना सवारी साधनका कारण वायू प्रदूषण र दुर्घटना बढिरहेकोले त्यसलाई न्यूनीकरण गर्न बीस वर्ष पुराना देशभरका सवारी साधन हटाउन लागिएको हो,’ विभागका निर्देशक तुल्सीराम अर्यालले भने ।

हाल देशभरमा बीस वर्ष पुराना ५,००० देखि ५,५०० सवारी साधन गुडिरहेको निर्देशक अर्यालले बताए ।

उनले फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको र त्यसको प्रक्रियामा पनि सवारी धनी आउने अपेक्षा गरेको बताए ।

‘हामीले सवारी धनीहरुलाई सुचना दिइसकेका छौं,’ निर्देशक अर्यालले भने, ‘यहि चैत १ गतेदेखि २० वर्ष पुराना सवारी साधन सडकमा गुडेमा जफत गरि प्रक्रियाअनुसार लिलाम गरिने छ ।’

उपत्यकाबाट भने गत वर्ष फागुनदेखि नै २० वर्ष पुराना सवारी साधन हटाई सकिएको छ । ‘गत वर्ष हामीले उपत्यकाभित्र मात्रै २० वर्ष पुराना सवारी साधन हटाएका थियौं । अब चैतदेखि देशभरका त्यस्ता सवारी साधन हटाईने छ,’ अर्यालले भने ।

गत वर्ष फागुनपछि गुडेका यस्ता १० वटा सवारी साधन जफत गरिएको पनि निर्देशक अर्यालले बताए ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरी नै यो निर्णय लागु गर्न लागेको हो ।

नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।

विभागले प्रेट्रोलियम पदार्थबाट चल्ने २० वर्ष पुराना गाडीमात्र हटाइने बताएको छ । विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार