ललितपुर – आज दशैँको सातौँ दिन दशैँघर, कोत तथा घरघरमा फूलपाती भित्राएर फूलपाती पर्व मनाइँदैछ। नवरात्रीको सातौँ दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ।
हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ। राजतन्त्र हुँदा हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राष्ट्र प्रमुखका हिसाबले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने परम्परा रहेको छ। पृथ्वीनारायण शाहले काठमाडौँ राज्य जितेपछि गोरखाबाट ल्याएर फुलपाती भित्राउने चलन बसेको इतिहास छ।
फुलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने चलन रहेको छ। त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ। फुलपाती भित्र्याउने साइत अनुसार टुडिखेलमा नेपाली सेनाले फुलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्दछन्। नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ। उक्त बढाईंको राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरुले प्रत्यक्ष अवलोकन गर्दैछन्। सर्वसाधारणले समेत त्यसको अवलोकलन गर्नेछन्।
घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा मंगलबार फुलपातीका दिन कालरात्री देवीको पुजा गरिदैछ। कालो वर्ण भएकी कालरात्री देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन। चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिएकी हुन्छिन्। यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगत वाट पूनर्जिवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । फुलपातीदेखी नै दोबाटो, चौबाटो ,चौतारो र खुल्ला स्थानमा हालिने लिङ्गे पिङ, डोडे पिङ र रोटे पिङ हाल्ने गरिन्छ । दशैँको विशेष रौनक फूलपातीबाट सुरु हुन्छ। आजैबाट सरकारी कार्यलयहरू बन्द हुन्छ।