म्याग्दी – जलजला गाउँपालिका–३ मल्लाजको डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण गरिएको छ। विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरी करिव रु नौ लाख नौ हजार ७५१ को लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण गरिएको हो।
ढलान गरिएको उक्त पदमार्ग एक मिटर ६० सेन्टिमिटर फराकिलो रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताए। विकास नेपाल बेल्जियमको रु छ लाख ३३ हजार सहयोग र स्थानीयवासीले रु दुई लाख ७६ हजार ७५१ बराबरको श्रमदान गरेको सो विकास नेपालका प्रतिनिधि मौरीक्सले सोमबार उद्घाटन गरेका थिए।
यसअघि सो संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३२ हजार ७७७ को लागतमा यसअघि बेनीको कालीपुलदेखि डिलफाँटसम्म एक हजार ३१५ मिटर सिढी र रेलिङसहितको पदमार्ग निर्माण गरिएकामा सो पदमार्गलाई विस्तार गरेर यसवर्ष कोतघरसम्म पुर्याइएको छ ।