Thursday, November 7, 2024

माइनगरपालिका : ५९ दरबन्दीमा नौ कर्मचारी

इलाम – माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन्। नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ।

कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दैछन्। नगर प्रमुख दीपककुमार थेवेका अनुसार नगरमा तीन वटा वडामा सब ओभरसियरले काम गरेका छन्। नगरका अरू वडामा समेत वडा सचिव नहुँदा कतै एउटै कर्मचारीले धेरैतिर सम्हाल्नुपर्ने छ भने कतै महिला विकासका कर्मचारीले वडा सचिवको काम गर्नुपर्ने स्थिति छ।

“कर्मचारी एकदमै अभाव भएपछि एउटै कर्मचारीले तीनतिर काम गर्दै हुनुहुन्छ । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ”, नगर उपप्रमुख विष्णुमाया रिमालले भनिन्, “नगरपालिकासित कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन। धेरैतिर कर्मचारी माग पनि गर्यौँ तर कतैबाट पहल भएन।” रिमालका अनुसार कार्यालयमा दरबन्दीभन्दा एक चौथाइ कम मात्र स्थायी दरबन्दीका कर्मचारी मात्र नगरमा छन्। नगरपालिकामै पनि ५९ को दरबन्दीमा नौ मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन्। रिजालका अनुसार कार्यालयमा प्रशासनमा एक, महिला चार र लेखा कार्यालयमा दुई कर्मचारी छन्। नगरपालिकामा दुई अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ।

नगर प्रमुख थेवेका अनुसार प्रमुख प्रशासकीय अधिकृतसमेत नहुँदा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय कर्मचारीको कार्यभार सम्हाल्नु परेको छ। थेवेले नगरपालिकाको आर्थिक, प्रशासनिक कार्य, योजना सञ्चालन र सेवाप्रवाहमा समेत समस्या भएको छ भने। “हामीले केही समयअघि मात्र ११ कार्यालय सहयोगी नियुक्ति गरेका छौँ,” उनले भने, “त्योभन्दा बढी चाहिँ कर्मचारी थप्ने स्रोत छैन ।” रासस

ताजा समाचार

सम्बन्धित समाचार