Wednesday, November 6, 2024

नगरपालिकाको फोहाेर खोलामा

मुसिकोट – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहाेर खोलामा बगाउँदै आएको छ।

फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैँले बजारमा सङ्कलन गरेको फोहाेर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो।

उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै फोहर सो खोलामा फाल्ने गरेकाले स्थानीयवासीले पनि घरघरमा सङ्कलन गरेको फोहर मनोमानी ढङ्गले खोलामा बगाउँदै आएका छन्।

वडा नं १२ र ९ लाई जोड्ने गिजागाड माथिको झोलुङ्गे पुलबाट स्थानीयवासीले दिनहुँ खोलामा फोहर फाल्दा यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रो समेत बढ्दै गएको छ।

यसअघि नगरपालिकाले बजारवासीलाई आफूखुशी यहाँको पुलबाट फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने सूचना सार्वजनिक गरेपनि नगरपालिकाले आफैँले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधै फोहर फाल्दा आठबिसकोट बजार प्रदूषित बन्दै गएको छ। खोलामा फालिएको फोहर बजार क्षेत्र र यहाँको विभिन्न ठाउँ र किसानको खेतबारीमा थुप्रिने गरेको स्थानीयवासी शङ्करबहादुर पुनले बताए।

उता नगरपालिकाले भने यस खोला किनारमा फाल्दै आएको फोहरलाई अस्थायीरुपमा मात्र व्यवस्थापन गरिएको जानकारी दिएको छ । तत्काल पर्याप्त मात्रामा डम्पिङ साइटका लागि जग्गा नभएकाले यस्तो गर्नुपरेको नगरपालिकाको भनाइ छ ।

बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि जग्गा उपलब्ध हुन लागेको र त्यसपछि मात्र फोहरको उचित व्यवस्थापन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। उनका अनुसार डम्पिङ साइटका जग्गा खरीद भइसकेकाले छिटै फोहर व्यवस्थापन गरिने छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार