Wednesday, November 6, 2024

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

बेनी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन्।

विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन्। यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीन नेपाली टोली त्यसतर्फ लागेका हुन् । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले उक्त हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारीका साथ आधार शिविरतर्फ लागेको उनले बताए।

वडाध्यक्ष छन्त्यालका अनुसार गुर्जामै रहेको अर्को हिमाल घुस्तुङ पिक आरोहणका लागि फ्रान्स, क्यानडा र स्विजरल्याण्डका नागरिकको एक टोलीसमेत आधार शिविरतर्फ लागेको छ । नेपाली पर्वतारोही राजन भोटेको नेतृत्वमा सात फ्रान्सेली तथा स्विजरल्याण्ड र क्यानडाका एक/एक नागरिक सो टोलीमा समलग्न छन्।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा छ हजार ४६५ मिटर अग्लो छ। गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका छन्।

गुर्जा सात हजार १९३ मिटर, गुर्जा पश्चिम छ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा सात हजार मिटरभन्दा अग्लाअग्ला छन्। दुई आरोही टोलीको सामान आधार शिविरसम्म पुर्याउन गुर्जाका ६६ जनाले छोटो अवधिको लागि रोजगारीसमेत पाएका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार