दाङ – घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ।
निजी लगानीमा दुई महिना अगाडि यहाँका एक समाजसेवीले निर्माण गराएको स्तम्भ चढेर जिल्लाको दृश्य हेर्न जानेहरु अहिले बढिरहेका छन्। यसले जिल्लालाई थप पर्यटकीय केन्द्र बनाउन मद्दत पुगेको छ।
अहिले जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने गरेका सर्वसाधारण एक पटक सो स्तम्भ चढेर जिल्लाको दृश्यवलोकन गर्न लालायित छन्। घोराही बजारदेखि करीब ७ किमी उत्तरमा पर्ने सो स्तम्भ हेर्न दैनिक सर्वसाधारणको वृद्धि भएको गुम्बा संरक्षण समितिले जनाएको छ।
बिदा र शनिबारको दिन त त्यहाँ दृश्य अवलोकन गर्नेहरुको भीड नै लाग्ने गर्दछ। निजी लगानीमा जिल्लामा नै पहिलो पटक निर्माण गरिएको स्तम्भले त्यस क्षेत्रलाई जिल्लाको थप पर्टकीय गन्तव्य बनाउनाका साथै सुन्दरता र महत्वलाई समेत बढाएको छ।
घोराही उपमहानगरपालिका–१८ निवासी समाजसेवी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया तथा उनका छोराबुहारीले रु ४५ लाखको लागतमा सो स्तम्भ निर्माण गरिदिनु भएको हो। सो स्तम्भमा एक पटक १५ जनाले चढेर दाङको दृश्य हेर्न पाउँछन्।
स्तम्भबाट घोराही बजारलगायत जिल्लाका धेरै स्थानको दृश्य अवलोकन गर्न सकिन्छ। स्तम्भ ५२ फिट अग्लो छ। सो स्तम्भ चढ्नका लागि सर्वसाधारण नागरिकलाई रु ५० तथा विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ।
स्तम्भको संरक्षणका लागि दुई कर्मचारीलाई भर्ना गरिएको छ। गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आफूले स्तम्भ निर्माण गराइदिएको समाजसेवी तथा निर्माणकर्ता पुन बताउँछन्। उनी भन्छन्, “समाजमा नयाँ कुराहरूकोे सम्भावना देखाउने भनेको समाजका अगुवाहरुले नै हो। अरुलाई प्रेरणा दिनका लागि मेरो परिवारले भ्यूटावर निर्माण गरेको हो”, मनकारी पुन भारतीय सेनाका पूर्वक्याप्टेनसमेत थिए। नारायणी रजौरे /रासस