Wednesday, November 6, 2024

मादी खोलामा पानी प्रशोधन केन्द्र बन्ने

काठमाडौँ – खानेपानी संस्थानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने भएको छ।

जाइकाको रु चार अर्ब ८० करोडको लागतमा उक्त आयोजना निर्माण हुने छ। खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा मंगलबार बसेको समीक्षा बैठकमा संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्न सो आयोजनाको निर्माण शुरु गर्ने जानकारी दिएको छ।

आयोजना निर्माण भएपछि पोखरा र आसपासका क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलोपटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा संजीवविक्रम राणाले जानकारी दिए।

उक्त एटिएमबाट निश्चित रकम भुक्तानी गरेपछि स्वच्छ पानी पिउन पाइने छ। यस्तो एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लैजाने योजना रहेको बोर्डका कार्यकारी निर्देशक राणाले बताए।

बोर्डबाट गठन भएको कार्यदलले गरेको अनुगमनबाट हालसम्म १८ ट्याङ्करलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्याङ्करलाई ३६ हजार जरिवाना गरिएको बैठकमा जानकारी गराइएको थियो।

बैठकमा मन्त्रालयले दुई साताअघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्याङ्कर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभर ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

योजना बैंक बनाइने
सो अवसरमा खानेपानीमन्त्री मगरले देशभरका स्थानीय तह तथा जनताबाट सङ्कलित योजनालाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउन लागिएको जानकारी दिए।

देशैभरबाट सङ्कलित योजनालाई योजना बैंकमार्फत अघि बढाउने मन्त्रालयको तयारी छ, उनले भने, “मुलुकभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत पूर्णसरसफाइको अभियानलाई अघि बढाइनेछ ।”

ताजा समाचार

सम्बन्धित समाचार