बेनी – म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ। ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन्।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनाले ५८ घरमा खानेपानी उपलब्ध गराएको हो। उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालका अनुसार कूल रु ६७ लाख ६७ हजारको लागतमा सो आयोजना निर्माण सम्पन्न गरिएको हो। स्थानीयवासीले ६ महिनासम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदानसमेत गरेका थिए।
आयोजना निर्माण गर्न नेपाल सरकार र फिनल्याण्ड सरकारले रु २० लाख ९७ हजार लगानी गरेका थिए। मङ्गला गाउँपालिकाले रु ६ लाख ७६ हजार सहयोग गरेको थियो। मुहानदेखि घरघरमा धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन स्थानीयवासी खनेका थिए। आयोजना निर्माण भएपछि अहिले १३ मुख्य तथा सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ। विगतमा खानेपानीका लागि कुवामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो। “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो,” स्थानीयवासी आरतीकुमारी शेरचनले भने।
यसैबीच बरङ्जाको दुर्दीमा समेत भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ। वास परियोजनामार्फत रु ७० लाख तीन हजारको लागतमा निर्माण भएको सो आयोजनाबाट मङ्गला गाउँपालिका–४ दुर्दीका ६८ परिवार लाभान्वित भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए।रासस