पर्वत – कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ।
आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा क्षति पुर्याएको कृषकले बताएका छन् । असिनाले पाक्ने बेलाको धान झार्नुका साथै हावाले धानबाली ढलाएको ठूलीपोखरीका रमेश शर्माले बताए।
यहाँका धेरै ठाउँमा व्यावसायिकरुपमा लगाइएको काउली, बन्दागोभी, सिमी, बोडी, फर्सी, काक्रो, घिरौलालगायतमा पनि क्षति पुगेको छ । राम्जादेउरालीमा धानखेतीमा असिनापानी र हावाहुरीले क्षति पुर्याएको स्थानीयवासी रामप्रसाद शर्माले बताए। उत्पादनमा कमी आउने भन्दै कृषक चिन्तित बनेका छन्। असिनाले नगदेबाली र अन्नबाली नष्ट गरेको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले क्षतिको विवरण सङ्कलन भइरहेको बताए। उनका अनुसार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा असिनापानीले क्षति पुर्याएको छ। प्रभावित क्षेत्रका कृषि जेटिएलाई विस्तृत विवरण सङ्कलनका लागि पठाइएको छ । रासस