जीवन नै पानी हो, पानीबिना जीवन सम्भव छैन भन्ने मूल भावलाई केन्द्रमा राखेर नेपाल वातावरण पत्रकार समूहले फागुन ५देखि सञ्चारका तीन विधाको शुभारम्भ गरेको छ ।
अमेरिकी विकास सहयोग नियोग (युएसएआईडी) को सहयोगमा शुरु भएको पानी परियोजनाअन्तर्गत भएका गतिविधिको प्रचारप्रसार गर्ने र परियोजनाको कार्यक्षेत्र – मध्य र सुदुरपश्चिमका कर्णाली, महाकाली र राप्ती नदी जलाधार – का जनतालाई पानीको महत्वबारे सुसुचित गर्ने उद्येश्यले टेलिभिजनतर्फ ‘पानी’ साप्ताहिक भिडियो कार्यक्रम, रेडियोतर्फ ‘पानी’ साप्ताहिक कार्यक्रम र अनलाइन पोर्टलतर्फ ‘हाकाहाकी डट ओआरजी’ शुभारम्भ भएको हो ।
सो समारोहमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले परियोजनाअन्र्तगतको टेलभिजन कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा मन्त्री पण्डितले आफुले वातावरण संरक्षणमा सक्दो प्रयत्न गर्ने बताउँदै सबै सम्बन्धित विज्ञ र पत्रकारहरुको सहयोगको अपेक्षा ब्यक्त गरे ।
करीब २५ मिनेटको टेलिभिजन कार्यक्रम एभिन्युज टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६ः३० बजे प्रसारणमा आएको छ ।
समारोहमा पानी परियोजनाअन्र्तगत नै साप्ताहिक रेडियो कार्यक्रमको शुभारम्भ जल तथा उर्जा आयोगका सह–सचिव माधब बेलबासेले गरेका छन् भने अनलाइन पोर्टल ‘हाकाहाकी डट ओआरजी’को शुभारम्भ पूर्व सिंचाई मन्त्री सञ्जय गौतमले गरेका छन् ।
कार्यक्रममा युएसएआईडीका निर्देशक पिटर ए. मालनाकले पानी परियोजनामा नेपाल सरकारमार्फत सहयोग गर्दै आईरहेका जानकारी दिए । “नेपाल वातावरण पत्रकार समुहले वातावरणको मुद्धालाई राष्ट्रिय विषय बनाएको छ,” उनले भने, “यो एकदमै सह्रानीय कुरा हो, जसले सकारात्मक विकास र परिवर्तन सम्भव छ ।”
युएसएआईडीले पानी परियोजनाअन्तर्गत स्रोत व्यवस्थापनमा स्थानीयको सहभागिता र पानीको मुद्दामा राष्ट्रियस्तरमा बहस होस् भन्ने आफुले चाहेको मालनाकले बताए । “पानीको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले नेपालको राष्ट्रिय नीति निर्मातासँगको सहकार्यबाट नै यो परियोजना आएको हो,” उनले भने । पानी व्यवस्थापनका विषयमा नदीको जलाधार क्षेत्रलाई आधार बनाईएको छ । “पानीको स्रोत व्यवस्थापन धेरै राष्ट्रमा चुनौतीको विषय बनेको छ जुन सिमित स्रोतमा निर्भर हुनु परिरहेको छ,” उनले भने, “अहिले पानी परियोजनाले तीन नदीको जलाधार क्षेत्रमा स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रमहरु सञ्चालन गर्नेछ ।”
ग्रामीण भेगका मान्छेलाई पानीको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेत गराउने आफुहरुको उद्येश्य रहेको बताउँदै मालनाकले भने, “पानीको व्यवस्थापनबाट जलाधारको माथिदेखि तलको क्षेत्रलाई कसरी समेट्न सकिन्छ भन्नेमा जोड छ, स्थानीयलाई यो बुझाउन जरुरी छ ।” स्थानीयलाई धेरैभन्दा धेरै पानीको स्रोत व्यवस्थापनमा कसरी सामेल गराउन सकिन्छ भन्नेमा परियोजनाको जोड रहेको पनि उनले बताए ।
पूर्व सिंचाई मन्त्री सञ्जय गौतमले पानी मान्छेको जीवनसँग जोडिएको र यसको संरक्षणमा आफु लागिपरेको बताए । कर्णाली, महाकाली र राप्ती नदी जलाधार क्षेत्रमा आधारित कार्यक्रमले आफुलाई खुसी तुल्याएको पनि उनले बताए । तालहरुको संरक्षणकालागि चुरे दोहन रोक्नु आवश्यक रहेको भन्दै चुरेको अतिक्रमणले प्राकृतिक स्रोत र सम्पदाको नास हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको उनले बताए ।
सिचाई तथा जलस्रोत मन्त्रालयका सह–सचिव माधब बेलबासेले नेपाल पानीको दोस्रो धनी देश नभएको बताए । नेपालमा पानीको स्रोत धेरै भएपनि व्यवस्थापन हुन नसक्दा कठिनाई भएको उनले बताए । “नेपालले गत आर्थिक वर्षमा ७१ अर्बको खाद्यान्न आयात गरेको थियो,” उनले भने, “त्यसलाई पानीमा उतारेर हेर्दा एउटा कमला नदीबराबर आयात गर्ने गरेका रहेछौं ।” नेपालमा पानीको स्रोत प्रशस्त रहे तापनि समयको हिसाबले हेर्दा ८० प्रतिशत पानी ४ महिनामा पर्छ भने २० प्रतिशत पानी ८ महिनामा पर्ने गरेको छ, उनले भने ।
सह–सचिव बेलबासेकाअनुसार पानीको व्यवस्थापनमा नीतिगत समस्या छ । जलस्रोतको व्यवस्थापनको कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु जरुरी छ । नीति, ऐन र संरचना सँगसँगै बनाउन पर्ने हुन्छ । राज्यलाई पानीको स्रोतको व्यवस्थापनमा कुनै चासो नै नभएको पनि उनको गुनासो रह्यो । पानीको व्यवस्थापनको विषय भविष्यमा झनै जटिल हुने बताउँदै उनले भने, “पानीको व्यवस्थापनका विषयमा संबिधानले केही पनि भनेको छैन, उपयोगको कुरा गर्दा स्थानीय निकाय, प्रदेश र केन्द्रलाई उत्तिकै उपयोगको अधिकार दिईएको छ ।”
सो अवसरमा आफ्नो स्वागत मन्तब्यमा नेपाल वातावरण पत्रकार समुहका महासचिव रमेश प्रसाद भुसालले दिगो बिकास र वातावरण संरक्षणमा नेफेजले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए । पानी मान्छेको जीवनको आधार भएको र पानीबिना जीवनको कल्पना गर्न नसकिने बताउँदै उनले नेपालमा पानी पर्याप्त भएपनि यसको सही सदुपयोगमा ध्यान दिन जरुरी रहेको बताए ।
नयाँ संबिधान निर्माण सँगै पानीको स्रोतको उपयोग के हुने भन्ने विषयमा उल्लेख नभएपनि अब यसको स्रोत र परिचालनमा ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
पानी परियोजनाले मध्य र सुदूरपश्चिमका जिल्लाका जलाधार क्षेत्रमा पानीसम्बन्धी संरक्षणका कार्यक्रमलाई आम सञ्चारको माध्यमबाट उजागर गर्न लागेको नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष अर्जुन ढकालले बताए ।