ललितपुर–काठमाडौं उपत्यकाकाे फोहोर व्यवस्थानामा चुनौतीसँगै अवसर पनि रहेकाले यसको सही व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरूले अाैंल्याएका छन्।
शहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा भएको ‘नगरपालिको फोहोर व्यवस्थापन’ सम्बन्धी छलफल कार्यक्रमा सहभागीले यहाँका नगरपालिको फोहाेर व्यवस्थापन सरकारी र निजी क्षेत्र मिलेर गरेमा यसबाट आम्दानी तथा यसले रोजगार पनि सिर्जना गर्न बताएका हुन्।
वातावरण संरक्षण गैरसरकारी संस्थाका अध्यक्ष तथा नेप्सेम्याकका प्रमुख कार्यकारी अधिकृत टीकाराम दाहालले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौतीसँग यसलाई सहि व्यवस्थापन गर्न सके आम्दानीको स्रोत पनि बनाउन सकिने बताए।
‘सबै मिलेर फोहोरलाई व्यवस्थापन गर्न सके यसबाट आम्दानी पनि गर्न सकिन्छ,’ उनले भने, ‘स्रोतबाटै फोहोरको वर्गीकरण गर्न, घरेलु कम्पोष्ट मल, कौसीखेती,सामुदायिक कम्पोष्ट मल बनाएर फाहोर व्यवस्थापन गर्न सकिन्छ।’
उनले सेवाग्राहीलाई शुल्क तिर्नुपर्ने बाध्यकारी व्यवस्था, सरकारी-निजी साझेदारी माेडल कार्यान्वयन,फोहोर व्यवस्थापनका लागि जग्गा र फोहोरमैला व्यवस्थापन ऐन कार्यान्वयन गर्नुपर्ने बताए। दाहालले जग्गाको अभाव,सहि व्यवस्थापन नहुनु र कुनै पनि योजना दिगोरुपमा सञ्चालन नहुँदा फोहोरमैला व्यवस्थापनमा चुनौती देखिएको बताए ।
वातावरणविद् भुषण तुलाधरले सरकारले गरेको प्लास्टिक प्रतिबन्ध केही हदसम्म कार्यान्वयमा आएको भएकाेमा सर्वसाधारणले अब प्लास्टिकको विकल्प खोज्नुपर्ने बेला आएको बताए। उनले नेपालमा ७० प्रतिशत अर्गानिक तथा १०–१० प्रतिशत कागज, प्लास्टिक र सिसाजन्य फोहोर नेपालमा निस्कासन हुने गरेकाे तथ्यांक प्रस्तुत गरे। ‘अर्गानिक फोहोरलाई पुन:प्रयोग गर्न सकिन्छ । यसबाट बायोग्यास, कम्पोष्ट मल बनाउन सकिन्छ,’ उनले भने‘प्लास्टिक,कागज र सिसा पनि पुन: प्रयोग हुन्छ।’
नगरपालिका महासंघका कार्यकारी निर्देशक कलनिधि देवकोटाले अहिले स्थानीय तहलाई सम्पूर्ण अधिकार दिएकाले फोहोर व्यवस्थापन सम्बन्धी छुट्टै व्यवस्था ल्याएर यसको व्यवस्थापन गर्न सक्ने बताए। उनले नगरपालिकाहरुले निजी कम्पनीसँग साझेदारी गरी फोहोरमैला व्यवस्थापन गर्न सकिने बताए। ‘सबै मिलेर फोहोरमैला व्यवस्थापन गरौं। यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘फोहोर व्यवस्थापनमा दिगो व्यवस्थापन गर्न सचेतना बढाउ।’
धेरै नगरपालिका मिलेर एक निजी कम्पनीसँग साझेदारी गरेर जादा दिगो फोहोर व्यवस्थापन हुनेमा उनकाे जाेड छ।





