Friday, September 20, 2024

बने २ लाख ९६ हजार घर, तथ्यांकमा हेर्नुहोस् पुनर्निर्माण

काठमाडौं–भूकम्पपछिको पुनर्निर्माणको क्रममा हालसम्म झण्डै तीन लाख घर बनेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १२ वैशाख २०७२ को भूकम्पमा ५ लाख ५५ हजार ६ सय १२ निजी घरमा क्षति पुगेकोमा  २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको हो। जसमध्ये २ लाख ५९ हजार ९८ घरको पुनर्निर्माणको काम भइरहेको प्राधिकरणले जनाएको छ।

यसैगरी, कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ। साथै, दसैंतिहारपछि पुनर्निर्माण भइरहेका घरहरुको निर्माण सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा गरिएको प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले बताए।

स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने उनको विश्वास छ।

भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ। त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन्। त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ। २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन्।

गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ। त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ।

जिल्लागत रुपमा पुननिर्माण सम्पन्न भएका घरको संख्याः
सिन्धुपाल्चोक – ४९,५४०
दोलखा – ४४,४६१
गोरखा – ३६,४९०
धादिङ – ३५,६६१
नुवाकोट – २८,१५०
रामेछाप – २३,७३४
काभ्रेपलाञ्चोक – २०,७५२
सिन्धुली – ११,११०
ओखलढुङ्गा – १०,७८७
ललितपुर – ३,४५५
भक्तपुर – ५,५३०
काठमाडौं – ७,४३८
रसुवा – ८,५९१
मकवानपुर – ८,३४६
खोटाङ – १,१९१
सोलुखुम्बु – ४३०
स्याङ्जा – ५२०
गुल्मी – ३१५
अर्घाखाँची – १६
लमजुङ – ७

१ खर्ब ४८ अर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५ सय १८ रुपैयाँ वितरण भएको छ। यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ आर्थिक वर्ष २०७२-७३ मा वितरण भएको थियो भने आर्थिक वर्ष २०७३-७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ वितरण भएको थियो।

त्यसैगरी, २०७४-७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भयो। चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ।

नेपाल सरकारले बजेट कार्यक्रममार्फत् यस आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।

अनुदान लिन नयाँ समयसीमा
भदौ २१ गते बसेको प्राधिकरण निर्देशक समितिको निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा तय गरेको छ । अब २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पौष मसान्तभित्र दोस्रो र २०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

त्यसैगरी, गुनासो सम्बोधनलगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीहरुसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कार्तिक मसान्त तोकिएको छ । यस्ता लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ भने २०७६ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।

तथापि, आगामी दिनमा गुनासो सुनुवाईबाट लाभग्राही सूचीमा परेका एवं पुनःसर्भेक्षण, जोखिम वर्ग, परम्परागत वस्ती, एवं वस्ती स्थानान्तरणबाट आउने लाभग्राहीहरुका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ।

प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत् निर्धारण गरेको लक्ष्यअनुसार लचिलो समयसीमा निर्धारण गरेको छ । पहिलो किस्ता लिएर पनि घर निर्माण सुरु गर्न बाँकी भएका लाभग्राहीले घर निर्माण शीघ्र सुरु गर्न आवश्यक देखिन्छ । यसअघि समयसीमा संशोधन हुने गरेको भए पनि अब त्यसो गर्न निकै कठीन हुने भएकोले बाँकी सबै लाभग्राहीलाई घर निर्माण थाल्न प्राधिकरणले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार