Wednesday, November 6, 2024

जखेरा तालमा पर्यटकको घुइँचो

लमही – लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिए।

तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उनले बताए। पहाडैपहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट अवलोकन गर्न यहाँ मानिसहरु आउने अध्यक्ष चौधरीले जानकारी दिए। लमही नगरपालिका–३ को उक्त ताल दाङकै एक प्रसिद्ध पर्यटकीयस्थल हो। सात बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षत्रमा गणेश, त्रिसिद्धेश्वरी महादेव, कालिका र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ।

तलाउमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा र चराचुरुङ्गीको आवाजले गर्दा यहा पुग्ने पर्यटकलाई थप लोभ्याउने गरेको छ। वन भोजका लागि उपयुक्त यहाँको तालमा माछापालन शुरु गरिएको छ। माछापालन आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले बताए।

पर्यटकको सङ्ख्या बढ्दै गर्दा ताल व्यवस्थापनको अभाव खट्किन तथा झारपातले तालको सौन्दर्य ढाक्न थालेको छ। एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सकिरहेको छैन। तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा विदेशी पर्यटक भित्र्याउन सकिने बताइएको छ। ताल संरक्षण गर्न रु २० लाख बजेट विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए। पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उनको भनाइ थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार