Wednesday, November 6, 2024

कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण

भद्रपुर – सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ। कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो।

भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारका क्षेत्रमा काम गर्दै आएको ‘हिमालयन एनिमल रेस्क्यु ट्रष्ट’ (हार्ट)को सहयोगमा सञ्चालित पाँच दिने शिविरमा दैनिक ४० का दरले सडक कुकुरको बन्ध्याकरण गर्दै आएको छ। उक्त नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो चौथोपटक हो। भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए।

डा चन्द्र राई, डा विशाल चौधरी, डा समीर थापा, डा गोपाल देवकोटालगायतको प्राविधिक टोलीले यसअघि मेचीनगर नगरपालिकाको विभिन्न वडामा कुकुरको बन्ध्याकरण शिविर गरेको थियो। उक्त शिविरमा १५० बढी कुकुरको बन्ध्याकरण गरिएको उक्त नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए। विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकामा नेपालमा सन् २०१०मा ‘हार्ट’को स्थापना पछि बध्याकरण शुरु गरिएको हो। रासस

ताजा समाचार

सम्बन्धित समाचार