Tuesday, November 5, 2024

मध्यपहाडी लोकमार्गमा कालोपत्रेको तयारी

बागलुङ – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा कालोपत्रेको तयारी भएको छ। यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा कालोपत्रे सक्ने आयोजनाको लक्ष्य छ। कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जिनीयर सुरज महर्जनले बताए।

सडक चौडा गर्ने, पहिरो नियन्त्रण, पर्खाल, नाली निर्माणलगायतका काम धमाधम भइरहेका छन्। जिल्लामा पर्ने १४२ किमी सडकमध्ये सदरमुकामदेखि घोडाबाँधेसम्म २५ किमी र बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्म ४५ किमी कालोपत्रे हुन बाँकी छ। घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ।

विसं २०५४ मै मार्ग खोल्न शुरु भएको सडक बल्ल कालोपत्रे हुने भएको हो। बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी ‘सिद्वीटाइ कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ। त्यस्तै बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्मको ४५ किमी ‘कालिका प्यासेफिक’ र ‘इसिआर/कन्काइ’ निर्माण कम्पनीको जिम्मामा छ।

उक्त खण्डको २४ किमीमा ‘ग्राबेल’ भइसकेकाले कालोपत्रे छिटो हुने भएको छ। सदरमुकामपट्टिको खण्डमा पनि काम तीव्रगतिमा अघि बढेको ठेकेदार कम्पनीले जनाएका छन्। केही वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त खण्ड ठेकेदार कम्पनीकै लापरबाहीले ढिलो भएको हो। लोकमार्ग आयोजनाले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी हटाएर नयाँलाई जिम्मा दिएको हो।

सदरमुकामतर्फकै सडक निर्माणमा भएको ढिलाइले जनगुनासो पनि बढेको थियो। “अहिले भइरहेको काम हेर्दा केही आशा पलाएको छ” काठेखोला गाउँपालिका–५ का शिवलाल कँडेलले भने, “कालोपत्रे छिट्टै होस् भन्ने हाम्रो माग छ।” कालोपत्रे नहुँदा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्नुपर्ने बाध्यता स्थानीयवासीमा छ।

जिल्लामा पर्ने लोकमार्गका १४ मध्ये ११ पुल बनिसकेका छन्। बुर्तिबाङको भुजी र बागलुङ नगरपालिकाको खहरे खोलामा निर्माणाधीन पुल पनि अन्तिम चरणमा छन्। जिल्लाको मेरुदण्ड मानिएको लोकमार्ग कालोपत्रे हुँदासाथ यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने ठानिएको छ। नेपालको पूर्व–पश्चिम जोड्ने लोकमार्गले बागलुङको सबैभन्दा बढी १४२ किमी दूरी समेटेको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार