Tuesday, November 5, 2024

यातायात व्यवसायीको रोक्का खाता खुल्दैन : मन्त्री महासेठ

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातको सिन्डिकेट अन्त्यको क्रममा गत वैशाखमा रोक्का गरिएका यातायात समितिको बैंक खाता फुकुवा नहुने बताएका छन्।

यातायात समिति खारेज गरी कम्पनीमा दर्ता गर्न भनि सकिएकाले अब खारेज भएका संस्थाको बैंक खाता फुकुवा नहुने मन्त्री महासेठले बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बताएका हुन्। साथै उनले यातायात समितिको बैंक खातामा रहेको सबै रकम राज्यकोषमा जम्मा हुने जिकिर गरे। ‘संस्था नै खारेज भइसकेपछि त्यो पैसा कुनै पनि हालतमा उनीहरूको हुँदैन, राज्यको हुन्छ । त्यसैले त्यो पैसा अब राज्यकोषमा जम्मा हुन्छ,’ उनले भने, ‘अहिले त्यो पैसा यातायातमै खर्च गर्ने कि अन्य काममा भनेर छलफल भइरहेको छ।’

जनताले सिण्डिकेट खारेजको महसुस गर्न नपाएको बताउँदै उनले मंसिरबाट सिण्डिकेट अन्त्य भएको महसुस गर्ने जनाए। ‘समितिलाई मंसिरसम्ममा कम्पनीमा जाने म्याद दिइएको छ, त्यसपछि सर्वसाधारणले सिण्डिकेट अन्त्यको महसुस गर्न पाउनुहुनेछ,’ उनले भने।

तर, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भने मन्त्री महासेठले आफूहरुको रोक्का भएको बैंक खाता फुकुवा गरिदिने वचन दिएको बताउँछन्। ‘मन्त्रीज्यूले हामीसँगको भेटमा रोक्का गरिएको सबै खाता फुकुवा गरिदिने बताउनुभएको थियो,’ हाकाहाकीसँग कुरा गर्दै उनले भने, ‘हामीसँग एउटा कुरा गर्नुहुन्छ, बाहिरी अर्को कुरा गर्नुहुन्छ?’

सरकारले खाता फुकुवा नगरे कर्मचारी, विरामी तथा अन्य सबै कुराको जिम्मा सरकारलाई नै लगाउने उनले बताए। ‘कर्मचारीले तलब पाएका छैनन्, दुर्घटनाका घाइतेको उपचारका लागि पैसा नभएर अस्पतालमा उधारो बढेकोबढ्यै छ, त्यो सबैको जिम्मा सरकारले नै लिनुपर्छ,’ उनले भने ।

सरकारले अहिले २ सय ४५ वटा समितिका खाता रोक्का गरेको बताउँदै उनले मन्त्रीसँग छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा जाने बताए।

ताजा समाचार

सम्बन्धित समाचार