Friday, September 20, 2024

चक्रपथमा तीन वर्षभित्र विद्युतीय मोनोरेल, लागत एक खर्ब १६ अर्ब

काठमाडौं–२७ दशमलव ५ किलोमिटर दूरीको चक्रपथ (रिङरोड) मा तीन वर्षभित्र विद्युतीय मोनोरेल सञ्चालन गर्न सकिने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ।

कोटेश्वर-कलंकी, कलंकी-महाराजगञ्ज र महाराजगञ्ज-कोटेश्वर गरी चरणमा रेलमार्ग बनाउन एक खर्ब १६ अर्ब लागत लाग्ने चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) ले गरेको पूर्व सम्भाव्यता अध्ययनमा उल्लेख छ।

उक्त कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग ११ जेठमा ६ महिनाभित्र पूर्वसम्भाव्यता अध्ययन गरिसक्ने गरी सम्झौता गरेकोमा तीन महिनामै (२८ भदौ) मा प्रतिवेदन बुझाएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिका मेयर चिरिबाबु श्रेष्ठलाई रेल परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउँदै सीआरसीसीका नेपाल प्रतिनिधि इन्जिनियर नवीन पोखरेलले ‘पूर्वसम्भाव्यता अध्ययनले भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिक रूपमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न सकिने देखिएको’ बताए।

यद्यपी, हाल ८ लेनमा विस्तारको क्रममा रहेको चक्रपथको गौशाला–चावहिल सडकखण्डमा जग्गा मुआब्जा लगायतका प्राविधिक समस्या छ। ‘विवाद नभएका स्थानमा मोनोरेलको पूर्वाधार निर्माण अगाडि बढाउन सकिने देखिन्छ,’ इन्जिनियर पोखरेलले भने। कम्पनीले दुवै महानगरपालिकासँग समझदारी भएको ६ महिनामै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सकिने दाबी पनि गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रीसँग छलफल गरेर छिट्टै डीपीआरको काम अघि बढाउने बताए। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमाथि दुवै महानगरपालिकाका इन्जिनियर, नेपाल सरकारका पदाधिकारी र मोनोरेल विज्ञहरुसँग थप छलफल गरी अबको एक महिनामा डीपीआर बनाउन स्वीकृति दिइने बताए।

सीआरसीसीले इपीसीएफ मोडालिटीमा चक्रपथमा रेलमार्ग निर्माण गर्न सकिने प्रस्ताव समेत गरेको छ। इपिसिएफ मोडालिटी भन्नाले परियोजनाको प्राविधिक आर्थिक खर्च कम्पनीले आफैंले व्यहोर्छ। यो मोडालिटीमा मोनोरेल परियोजना बनेमा २ वा ५ वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सीआरसीसीले सञ्चालन गर्ने छ। यस अवधिमा यी दुई महानगरपालिकाले कम्पनीलाई वार्षिक रुपमा निश्चित रकम बुझाउने छन्।  तर, त्यसको लागत विस्तारै नेपाल सरकारले तिर्नुपर्ने हुन्छ।

पूर्वसम्भाव्यता अध्ययन अनुसार कोटेश्वर–कलंकी करीब १० किलोमिटर दूरीमा पहिलो चरणमा बनाउन सकिनेछ, भने कलंकी–महाराजगञ्ज करीब ९ किलोमिटर दूरीको सडकमा दोस्रो चरणमा निर्माण गर्न सकिने छ। यसैगरी, महाराजगञ्ज–कोटेश्वर करीब ८ किलोमिटर खण्ड तेस्रो चरणमा निर्माण गर्न सकिने पूर्वसम्भाव्यता अध्ययनले औंल्याएको छ।

हाल चक्रपथ ८ लेनमा विस्तार भइरहेको छ। जसअन्तर्गत पहिलो खण्ड कोटेश्वर–कलंकीको काम सम्पन्न भइसकेको छ। पूर्वसम्भाव्यता अध्ययनले चक्रपथको सहायक लेन र मुख्य लेनको बीच भाग मोनोरेलका लागि उपयुक्त हुने सुझाएको छ।

पूर्वसम्भाव्यता अध्ययन अनुसार मोनोरेल सञ्चालन गर्दा १७ वटा स्टेशन (यात्रु चढने र आेराल्ने) बनाउन सकिनेछ, भने प्रतिघण्टा ८० देखि १ सय किलोमिटरका दरले कुद्ने मोनोरेल चलाउन सकिनेछ। चक्रपथमा सञ्चालन गर्ने भनिएको विद्यतीय मोनोरेलले एक पटकमा १५ देखि २० हजारसम्म यात्रु बोक्ने क्षमता राख्छ।

मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा चिनियाँ कम्पनीलाई

ताजा समाचार

सम्बन्धित समाचार