Friday, April 11, 2025

सफाई अभियानमा लागेका जोडी

शुशिला र राजमान जहाँ शहर फोहोर छ त्यहाँ हाम्रो आवश्यकता छ भनेर मानविय फोहोर सफा गर्न जाने गरेको बताउँछन् ।

खेमा बस्नेत

ललितपुरःमानवीय फोहोररहित बिश्व बनाउन सचेतना अभियानका अभियन्ता सुशिला महर्जन (४१) र राजमान मानव (५३) बंगलादेशका विभिन्न शहरहरु सफा गरेर हालै नेपाल फिरेका छन् ।

यसै बर्षबाट विश्वको सबभन्दा फोहोर देश भनिएको बंगलादेशबाट बाहिरी देशको सफाई अभियान सुरू गर्ने योजनाअनुसार उनीहरू बंगलादेश पुगेका हुन् ।

किर्तिपुरमा जन्मेका सुशिला र राजमान १० वर्षदेखि सिंगो बिश्वलाई मानविय फोहोररहित बनाउने अभियानलाई निरन्तरता दिंदै सन् २०१८ को डिसेम्बर महिनाको पहिलो हप्ता बंगलादेश पुगेका थिए ।

‘सुरुमा सरसफाई गर्दा सबैले हामीलाई आश्चर्य चकित भएर हेरे । तर पछि हाम्रो अभियान बुझेपछि सबैले साथ दिएका थिए,’ दुवैले खुसी हुँदै भने ।

बंगलादेशमा महिलाहरुले बुर्का लगाउने चलनले भने सुशिलालाई अलि असहज महसुस भयो तर उनीहरुको अभियान बुझेपछि सबैले साथ दिएको उनी बताउँछिन् ।

‘त्यहाँका महिलाहरूले बुर्का लगाउनुपर्ने रहेछ । मलाई पनि बुर्का लगाउन र अनुहार नदेखाई काम गर्न आग्रह गरियो,’ उनले भने, ‘तर हामीले हाम्रो अभियान र हाम्रोे देशमा यस्तो चलन छैन भनेपछि हाम्रो कामलाई उनीहरुले हामीलाई साथ दिए ।’

शुसिला र राजमान बिहान छ बजेदेखि साँझको पाँच बजेसम्म बंगलादेशका बिभिन्न शहरमा दुई महिनासम्म सरसफाई गरेको बताउँछन् । उनीहरु फेब्रअरी पहिलो साता नेपाल फर्किएका थिए ।

राजमान भन्छन्, ‘त्यहाँ प्लास्टिक झोला ब्यान्ड गरिएको छ । तर सरसफाई गर्नुपर्छ भन्ने सामान्य ज्ञानको अभाव रहेछ । हामीले काठमाडौं फोहोर शहर भन्छौं तर त्यहाँका शहरका तुलनामा काठमाडौं शहर धेरै सफा छ ।’

बंगलादेशपछि उनीहरू अब श्रीलंका, माल्दिभ्स, भुटान र भारत जाने तयारीमा छन् । दक्षिण एसियामा सरसफाईबारे चेतना जगाउने काम गरेपछि उनीहरू नेपाल फर्किने छन् ।

शुशिला र राजमान जहाँ शहर फोहोर छ त्यहाँ हाम्रो आवश्यकता छ भनेर मानविय फोहोर सफा गर्न जाने गरेको बताउँछन् । ‘नेपाल तथा विदेशका सबैभन्दा फोहोर शहर वा गाउँमा गएर सफा गर्ने हाम्रो ध्यय हो,’ शुशिलाले भनिन् ।

नेपालमा त उनीहरूले थुप्रै जिल्लामा सफाई अभियान चलाई सकेका छन् । अहिलेसम्म नेपालका २६ जिल्लाका ५७ वटा नगरपालिकामा उनीहरु पुगिसकेका छन् । तिनका अनुभवमा जनकपुर, नेपालगञ्ज, विराटनगर, बिरगञ्ज र महेन्द्रनगर सबैभन्दा फोहोर शहर हुन् ।

असोज २०७० देखि घरपरिवार र सारा गृहस्थी छोडेर यो अभियानमा जुटेकी शुसिला भन्छिन् — ‘अबको वाँकी जीवन सरसफाई अभियानमा लगाउनेछु ।’

२०६७ सालमा किर्तिपुर महोत्सव हुने भएपछि त्यहाँका ५५ सय मानिसहरुले ४० वर्ष पुरानो डम्पिङ साइट एक घण्टामा सफा गरेका थिए । सरसफाईमा उनको सक्रियता देखेर छिमेकीले निकै प्रशंसा गरे । यहीं प्रशंसाले नै उनलाई सरसफाई गर्ने उत्साह थप्यो । उनलाई एक्कासी यस्तो लाग्यो — ‘सिंगो संसार नै सफा भए कति रमाईलो देखिन्थ्यो होला ।’ यसरी आफैँभित्र आएको देश र बिश्व नै सफा गर्ने महत्वकांक्षी बिचारपछि उनी यसरी सरसफाई गर्ने अभियानमा लागेको बताउँछिन् ।

राजमानले पनि आफ्नो जीवन सरसफाई अभियानमा नै ब्यतित गर्ने बताउँछन् ।

अहिले शुसिला र राजमानको पहिचान सेतो हाफ भेष्ट, सेतै हाफ पाईन्ट र गुलाबी रङको सडक बढार्ने लामो कुची हो । यो कुची उनीहरु कहीं गएपनि छोड्दैनन् । बाटो हिँड्दै गर्दा जहाँ फोहोर देख्यो त्यहीं बढार्न थालिहाल्छन् ।

सफा गर्दै जाँदा जहाँ रात पर्छ त्यहीँ तिनको बासस्थान हुन्छ । त्यहाँका जनताले जे खान दिन्छन्, त्यही खान्छन् । एक ठाँउबाट अर्को ठाँउ जाँदा कुनै गाडीमा गाडीवालाले भाडा लिँदैनन्, कसैले भाडा सौजन्य गरिदिन्छन् भने कतै आफैँ खर्च बेहोरेर हिँड्ने गरेका छन् ।

नेपाललाई मानविय फोहररहित बनाउने उनीहरुको लक्ष्यलाई सार्थक बनाउन २०७५ माघ ९ गते सरसफाइ अभियानमा १० लाख मानिस उतार्ने र एक घन्टामा काठमाडौं सफा गर्ने योजना उनीहरुको छ ।

सफा गर्नेभन्दा पनि फोहर नै नगरौं भन्ने मान्यता उनीहरुकोे छ । आफूबाट सिर्जित फोहर आफैँ निश्चित ठाँउमा राख्नको लागि उनले सबैलाई आग्रह पनि गरेकी छन् ।

उनीहरूले लगाएको सेतो टिसर्टको अगाडी लेखिएको छ — ‘मैले नगरे कसले गर्छ ।’ टिसर्टको पछाडीको भागमा अंकित छ – अंग्रेजी अक्षर ‘आई’।

नेपाललाई वि.सं.२०७७ सम्म मानवीय फोहोररहित देश बनाउने लक्ष्य रहेको उनीहरु बताउँछन् ।

नेपाललाई वि.सं.२०७७ बाट मानविय फोहोररहित देश बनेपछि नौ वर्षमा ८० वटा देशका फोहोर शहरहरू निरन्तर सफाईमा लाग्नेछन् । यसरी विश्वलाई सन् २०२८ बाट मानवीय फोहोररहित बनाउने अभियानमा लागिरहेको शुशिला र राजमानले बताए ।

यो जोडीको बिश्वनै सफा गर्ने महत्वाकांक्षा पुरा हुन त असम्भव प्रायः नै होला तर उनीहरुको सोच र लगनले भने पक्कै मानिसहरुलाई त सचेत बनाउन मद्दत पुग्ने कुरामा दुई मत नहोला ।

ताजा समाचार

सम्बन्धित समाचार