Friday, November 1, 2024

पत्रपत्रिकामा आज : चुरे फाँड्दै सडक, सडक मर्मतपछि झनै सास्ती

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा सडक मर्मतपछि झनै सास्ती शिर्षकमा अनिल ढकालको समाचार छापिएको छ ।
तीज मनाउन माइत हिँडेकी रत्ननगर जयमंगलाकी शर्मिला कोइराला तीन वर्षको नाती र छोरी सम्झँदै रुँदै थिइन्। पहिरो छिचोल्नसँगै रहेका छोरी र तीन वर्षको नाती बारे सोध्दै चिन्तित थिइन्।

चार वर्षपछि माइतमा तीज मनाउने उनको रहर यसपटक पनि पुरा हुन पाएन। गोरखाको घ्यालचोकमा रहेको माइत जाने क्रममा पहिरोले बगाएर भरतपुर अस्पतालको शड्ढयामा रहेकी ४९ वर्षकी कोइराला आफन्तसँग सन्तानको अवस्थाबारे सोधीखोजी गर्दै रोएकी थिइन। नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा खसेको पहिरोले उनलाई बगाएको थियो।

ठूलो पहिरो भएको कारण बाटो खुल्न समय लाग्ने भएपछि हिँडेर कट्न लाग्दा उनलाई पहिरोले बगाएको थियो। छोरी अञ्जु न्यौपानेलाई हिँड्नका लागि नडराउन भन्दै नाती अनमोललाई काखमा च्यापेर पहिरो छिचोल्न लागिन। माथि पहिरो हेर्दै कट्न लाग्दा ठूलो ढुंगासँगै पहिरोमा उनी बगिन। ढुंगाको छेउले लागेको हुनाले आफू बचेको एनले बताइन्। सँगै गएका साथीहरू पहिरो कटे पनि उनी कट्न सकिनन्। ‘माथिबाट ढुंगा खसेको देखेपछि छोरीलाई धकेलेर काखमा भएको नातीलाई फालिदिए’ शर्मिलाले भनिन् ‘छोरी र नाती ठिक भएपछि मैले जुनि फेरेको अनुभव गरे।’ जयमंगलाबाट बिहान चार बजे गाडी चढेका उनीहरू जाममा परेका थिए। बाटो नखुल्ने संकेत देखेपछि बाटो कटेर मुग्लिन पुग्न सके सजिलै माइत जाने भन्दै पहिरोमा हिँडेका थिए। उनको खुट्टा, नाक र टाउकोमा सामान्य चोट लागेको छ।

कान्तिपुर
–आजको कान्तिपुरमा चुरे फाँड्दै सडक शिर्षकमा अब्दुल्लाह मियाँ, प्रताप विष्ट, डिल्लीराम खतिवडाको समाचार छापिएको छ । धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडक बनाउने क्रममा चुरे र महाभारत क्षेत्रका १२ हजारभन्दा बढी ठूला रूख काटिइसकेका छन् ।

झापादेखि डडेलधुरासम्म १२ सय किमि पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग निर्माण गर्ने सरकारको निर्णयअनुसार यसै वर्षदेखि काम थालिएको हो ।

धरानदेखि हेटौंडासम्मको ३ सय ११ किमि सडकलाई २ खण्डमा छुट्याई निर्माण भइरहेको छ । दुवै खण्डमा जम्मा १२ हजार ७ सय १० रूख काटिएका छन् । हेटौंडादेखि सिन्धुलीसम्म ४ हजार ३ सय ४ रूख कटान गर्न बाँकी रहेको पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले बताए । आयोजना पूर्वी क्षेत्रका सूचना अधिकारी एवं इन्जिनियर रामदेयार चौधरीले विद्युत् प्राधिकरणले बिजुली पोल नहटाएका कारण रूख काट्न बाँकी रहेको जनाए ।

विकास निर्माण आयोजनाका लागि रूख काट्दा एउटा बराबर २५ वटा बिरुवा रोप्नुपर्छ । तर अहिलेसम्म दुवै खण्डमा एउटै बिरुवा रोपिएको छैन । डिभिजन वन कार्यालयले लागत स्टमेट र रोप्ने स्थान नदिँदा बिरुवा रोप्न नसकिएको आयोजनाको भनाइ छ । डिभिजन वन, मकवानपुरका प्रमुख प्रल्हाद धितालले भने आयोजनाले रूख रोप्नेबारे पत्राचारै नगरेको बताए । ‘रूख रोप्छु स्थान चाहियो भनेर पत्राचार गर्नुपर्ने हो,’ धितालले भने, ‘अहिलेसम्म कोही पनि सम्पर्कमा आएकै छैन ।’

चुरेमा रूख काटिँदा र डोजर चलाइँदा तल्लो तटीय क्षेत्रमा असर पर्ने विज्ञहरूले औंल्याएका छन् । चुरे क्षेत्रमै विद्यावारिधि गरेका विजयसिंह दनुवारका अनुसार यो सडकको धेरै भाग चुरे र केही महाभारतमा पर्छ । ‘त्रियुगादेखि मकवानपुरको फापरबारी–छतिवनसम्मै चुरे र महाभारत क्षेत्रमा डोजर चलाइने हुँदा त्यसको असर तराई–मधेसमा पर्छ,’ उनले भने, ‘कमलो पहाड भत्किने भएकाले अत्यधिक भूक्षयको सम्भावना छ ।’ राजमार्ग बनेपछि मानवीय चाप बढ्न गई चुरेमा अतिक्रमण र स्रोत दोहन हुन सक्ने दनुवारको विश्लेषण रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै नारायणगढ–मुग्लिन सडक बन्द शिर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ । एक महिनाभन्दा बढी समय पहिरोले दुस्ख नदिएको नारायणगढ– मुग्लिन सडक मंगलबार दिनभर ठप्प भयो । मुग्लिनदेखि पश्चिम नारायणगढतर्फ चार किलोमा मध्यरातमा खसेको पहिरो सफा गर्न दिनभर पनि सकिएन । कालीखोलामा मात्रै नभएर गाईघाट, घुमाउने, जलविरेमा पनि पहिरो गएको थियो । ती अलि साना पहिरा थिए । पछिल्लो समय झरी पर्दासमेत नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न छाडेको थियो ।

पूर्वी चितवन खोलेसिमलकी गीता घिमिरे तीजको दर खान माइत चरौंदी जानका लागि मंगलबार बिहान ६ बजे गाडी चढिन् । सोही ठाउँबाट शर्मिला सिग्देल र उनकी बहिनी सावित्री सुवेदी पनि माइत धादिङ हुग्दी खोला जान बस चढेका थिए । उनीहरू चढेको बस दिनभर १७ किलो क्षेत्रमा रोकियो । ना ४ ख ९८१८ नम्बरको बस चढेका थिए उनीहरूले । बसधनी गंगाराम लामिछानेले ९५ प्रतिशत यात्रु तीजका चेलीबेटी रहेको बताएको समाचारमा छ ।

नागरिक
–अाजकाे नागरिकमा दिनभरि दुःख दियो पहिरोले शिर्षकमा चितवनबाट सविता श्रेष्ठले समाचार लेखेकी छिन् । नारायणगण्–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा मंगलबार राति करिब एक बजेदेखि सवारी आवागमन बन्द भएको थियो । चार किलो र गाइघाट क्षेत्रमा ठूलो पहिरो खसेको नारायणगण्–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
‘वनले रुख काट्न दियो, जरा उखेल्न दिएन’ शीर्षकमा टीकापुरबाट योगेश रावलले लेखेको समाचारमा इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको उल्लेख छ । आयोजनाले वन विभागको स्वीकृतिमा नहर निर्माणको ठेक्का पाएको कालिका कुमार जेभीलाई २०७४ चैत ८ गते डुँडेझारीदेखि लम्कीसम्मको ६ किलोमिटरमा २ हजार ६ सय ८८ रुख काट्न आदेश दिएको थियो । उसले २०७५ असार १० गतेभित्र सबै रुख काटेर सम्बन्धित ठाउँमा घाटगद्दी समेत गरिसकेको जनाएको छ । रुख काटेसँगै ठेकेदारले २०७५ भदौ १३ गतेदेखि जरा उखेल्ने काम सुरु गरेको थियो ।
२०७५ भदौ २० गते इलाका वन कार्यालय लम्किले अर्को आदेश नभएसम्मका लागि जरा उखेल्ने कार्य रोक्न भनेको निर्माण कम्पनीका कार्यक्रम प्रबन्धक सुनिल पौडेलले जानकारी दिएकाे समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा स्वर्गद्वारी विमानस्थल चर्चा हुँदै सेलाउँदै : वातावरणीय प्रभाव मूल्यांकन हुँदै शिर्षकमा सालिम अन्सारीको समाचार छापिएको छ ।
कुनैबेला खेतीयोग्य झिम्रुक फाँटमा हवाई मैदान बनाउने चर्चा खुब भयो । उर्वर भूमिमै हवाई मैदान बनाउने कुरा जिल्लाबासीलाई चित्त बुझेन । यातायातका साधनको विकास भइनसकेकाले जिल्लाबासीले हवाई मैदानको आवश्यकता महसुस गरेनन् र यसको अवरोध पनि भयो । त्यसपछिको करिब ६ दशक हवाई मैदानको विषय ओझेलमा परिरह्यो । २०४४ सालतिर नयाँ सडक खुल्यो । घोराही प्युठानको मोटरबाटो छोट्याएर भालुवाङ प्युठानको छोटो बाटो राजमार्गमा जोडियो । सडक यातायातले दूरी छोटिएपछि प्युठानीहरूले विमानस्थलको चासो राख्नसमेत छाडे ।
यस्तै परिवेशमा दोश्रो संविधानसभाको निर्वाचन हुने भयो । २०७० सालको सो निर्वाचनमा प्युठानमा जन्मिएका बामदेव गौतम मैदानमा उत्रिए । उनले चाल्नेटारमा हवाई मैदान निर्माण गरिनेलगायतका महत्त्वाकांक्षी पूर्वाधार विकासका ३४ बुँदे योजनाहरू चुनावी प्रतिबद्धतामार्फत अघि सारे ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाइ गर्ने सूचना प्रकाशित गरेपछि पुनः विमानस्थल निर्माणको चर्चा हुन थालेको छ । प्रस्तावित प्युठान स्वर्गद्वारी आन्तिरक विमानस्थलको प्रस्तावित आयोजनास्थलमा आगामी आश्विन ६ गते वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ गर्ने सूचना प्रकाशित भएको वडा अध्यक्ष खोपबहादुर रावतले बताएको समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार