Wednesday, November 5, 2025

बाढीले पुल भत्काएको ६ महिनापछि मर्मतका लागि बजेट निकासा, बर्षात्भन्दा पहिले क्षतिग्रत पुलको मर्मतसंहार हुने संभावना न्युन

कृष्ण अधिकारी

नेपालगन्ज, फागुन ४ः गत बर्षको बाढीबाट क्षतिग्रस्त भएका बाँके र बर्दियाका सात वटा पुलको मर्मत तथा पुनर्निर्माण अझै सुरु हुन सकेको छैन ।

बाढीले पुल क्षतिग्रस्त भएपछि यातायात संचालनका लागि सामान्य मर्मत गरेर एकतर्फी रुपमा यातायात संचालन गरेको ६ महिना बितिसक्दा पनि पुलको मर्मत तथा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन ।

बाढीले बाँके जिल्लामा पर्ने पुर्व पश्चिम राजमार्गअन्र्तगतका शम्शेरगन्जस्थित परुवा खोला, खोचे खोला, गाबर खोला, गन्धेली र मुगुवा खोलाको पुल क्षतिग्रस्त भएका थिए ।
त्यसैगरी पुर्व–पश्चिम राजमार्गअन्र्तगतनै पर्ने बर्दियाको औरी खोला र ओराली खोला पुल पनि क्षतिग्रस्त भएको थियो ।

बाढीले क्षतिग्रस्त बनाएका यि सात वटा पुलको मर्मतसंहार तथा पुल भएको क्षेत्रमा खोलाको दायाँ बायाँ टटबन्ध निर्माणका लागि भदौ महिनामै सर्भे तथा इस्टिमेट गरी १५ करोड बजेट माग गरेर पठाएकोमा त्यसको ६ महिना पछि माघको तेस्रो साता ३ करोड मात्रै बजेट निकासा भएर आएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुन कुमार बमले बताए ।

अर्थ मन्त्रालयबाट निक्कै ढिलो गरी बजेट निकासा भएर आएका कारण पुलको मर्मत तथा पुनर्निर्माणका लागि एक महिनाको अवधि दिएर टेन्डर सुचना निकाल्नु पर्ने, टेन्डरको मुल्यांकन गरी स्वीकृत गर्नका लागि करिब थप १५ दिन लाग्ने र बर्षात् सुरु हुनुभन्दा पहिलेनै क्षतिग्रस्त पुलको मर्मत तथा पुनर्निर्माण सम्पन्न गर्न निक्कै गाहे हुने देखिएको छ ।

माग गरेकोभन्दा निकै कम तथा मर्मतसंहारका लागि समय नै नपुग हुने गरी बजेट निकासा भएर आएका कारण पनि मर्मत तथा पुनर्निर्माण सम्भव नभएको हो ।

समयमै पुलको मर्मत तथा पुनर्निर्माणको काम हुन नसके यो बर्षपनि बर्षात्का बेला पुल भत्किएर लामो समयसम्म पुर्व–पश्चिम राजमार्गनै अबरुद्ध हुने संभावना बढेको छ ।

बाढीले पुल भत्काएपछि गत बर्ष पुर्व–पश्चिम राजमार्गको लमही कोहलपुर सडक खण्ड चार दिनसम्म अबरुद्ध भएको थियो । यो बर्ष बाढीले पुल भत्किएका कारण सडक अबरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुराउनसमेत निकै गाहे भएको थियो ।

हिउँदको समयमा मर्मत तथा पुनर्निर्माणको काम नगर्ने, बर्षात् सुरु भएपछि हतारहतारमा काम गर्ने र बजेट सक्ने क्रम यसपालि पनि दोहोरिने देखिएको छ ।

पश्चिम नेपाललाई राजधानीलगायत पुर्वी नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको राजमार्गका गत बर्षको बाढीले भत्काएका पुलको मर्मत तथा पुनर्निर्माणमा सरकारी निकायले चासो नदिंदा यस क्षेत्रका बासिन्दाले बर्षात्का बेला यसपालि पनि हैरानी खेप्नु पर्ने संभावना बढेको छ ।

पुर्व–पश्चिम राजमार्गको लमही कोहलपुर सडक खण्डमा दैनिक करिब एक हजार सवारीसाधन ओहोरदोहार गर्ने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार