Wednesday, October 2, 2024

बादल मडारिँदा नदीतिर

कैलाली–धनगढी उपमहानगरपालिका–१७ पथरीका राजाराम रानाको दिनचर्या अचेल खुटिया नदी किनारमै बित्छ। आकाशमा बादल मडारिँदा उनी काम समेत छाडेर नदी किनारा पुग्छन्– राँगा र डल्लफ (गाडा) सहित।

पथरीगाउँ र समैजी सामुदायिक वन उपभोक्ता समूहकाे वन क्षेत्र भएर बग्ने खुटिया नदीमा पानीको बहाव बढेपछि उनी डल्लफलाई यात्रु तार्ने माध्यम बनाउँछन्। यात्रुलाई नदी पार गराए बापत निश्चित शुल्क लिन्छन्। वर्षायाममा आउने बाढीलाई आम्दानीको स्रोत बनाउँछन्, राना।

खुटिया नदीमा गाडामार्फत् यात्रु तार्दै राजाराम राना।

गत शनिबार खुटिया किनारा पुग्दा उनी यात्रुलाई नदी पार गर्न व्यस्त थिए। पानी परिरहेकाले नदीको बहाव बढ्दो थियो। पथरी, धनचौरी लगायतका क्षेत्रबाट काम विशेषले धनगढी बजार आउने र फर्कनेहरू खुटिया किनारमा रोकिएका थिए। पुल नहुँदा उनीहरूलाई नदी पार गर्न सकस परिरहेको थियो।

४७ वर्षीय राजारामको गाडाले नदीकाे  बाढीको प्रवाह नगरी डुंंगाको काम गर्न थाल्यो। रोकिएका मोटरसाइकल, साइकल, र पैदल यात्रीलाई वारवार गराउन थाले उनी। खुटिया नदीमा राजाराम बाहेक अरू स्थानीय पनि बाढी आउँदा यात्रीलाई तारेर पैसा कमाउँने गर्छन् ।

‘मोटरसाइकल र यात्रीको १ सय रुपैयाँ, साइकल यात्रीको ५० रूपैयाँ र यात्री मात्रैको ३० रुपैयाँ लिन्छौं,’ राजारामले भने।
यात्री तारेबापत पाउने रकमले राजारामलाई केही खर्च चलाउन सहज हुने भएपनि त्यसले निम्त्याउन सक्ने जोखिमप्रति भने सचेत भएको बताउँछन्। पानीको बहावलाई राँगा गाडाले धान्न सक्ने भए मात्रै गाडा नदीमा हाल्ने गरेको उनी बताउँछन्।

 राना उक्त काम जोखिमपूर्ण हुँदाहुँदै पनि स्थानीय बासिन्दाको सहजताका लागि जोखिम मोलेरै नदीमा डल्लफ गुडाउने गरेकाे बताउँछन्। ‘बाढी आउँदा समस्या पर्छ,’ लामो समयदेखि खुटियामा डल्लफले यात्री तार्दै आएका रानाले भने, ‘आम्दानीभन्दा जोखिम बढी छ। डरैडरले तारिरहेका छौं।’

खुटिया नदीमा गाडामार्फत् यात्रु तार्दै राजाराम राना।

खुटियामा बाढी आउँदा डल्लफ चलाएपछि मानवीय क्षति कम हुन थालेको खोला किनारमा चिया पसल राखेका धनचौरीका बलबहादुर चन्दले बताए। ४० वर्ष अघिदेखि धनचौरीमा बसोबास गरिरहेका चन्दले खुटियाको बाढीले क्षति गरेकोे धेरै देखेका छन्। तर, पछिल्लो समयमा डल्लफले वारपार गराउन थालेपछि स्थानीयलाई सहजता भएकाे छ।

राना र चौधरी उल्लेख्य बस्ती रहेको उक्त क्षेत्रमा तरकारी बेच्न त्यहाँका रानाचौधरी महिला दैनिक धनगढी बजार आउने गर्दछन्। त्यतिमात्रै होइन सरकारी कामकाजका लागि पनि त्यहाँका स्थानीय दैनिक जसो धनगढी आउनुपर्छ। खुटियामा निर्माणाधीन पुलले गति नलिदा पनि उक्त क्षेत्रका मानिसहरूले सास्ती भोग्नु परेको स्थानीय रमिला रानाले बताइन्।

‘नदीमा पुल बन्ला भनेर धेरै आशावादी थियौं। पुल निर्माण प्रकृया पनि थालियो। तर, काममा भएको ढिलासुस्तीले गर्दा हामी जहिल्यै जोखिममा छौं,’ उनले भनिन्। रमिलाका अनुसार नदीमा पानीको बहाव बढ्दा डल्लफको सहारा लिनुकाे अन्य विकल्प छैन। बनबेहडा हुँदै धनगढी जान दूरी लामो पर्ने भएकाले स्थानीयहरू पैसा तिरेरै भएपनि डल्लफबाट नदी तर्छन।

वर्षायाममा कैलालीका अधिकांश क्षेत्रमा बाढीले सताउने गर्छ। कतै डुबान त कतै कटानले नदी किनारका बासिन्दा मारमा पर्छन।

धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष माधव रानाले खुटिया नदीमा पुल निर्माण भैरहेकोले तीन वर्षभित्र समस्या समाधन हुने बताउ। ‘गत वर्षदेखि पुल निर्माण काम भइरहेकाे छ। तीन वर्षमा सम्पन्न गर्न लक्ष्य रहेको छ,’ उनले भने,  ‘पुल निर्माणपछि यहाँ देखिएको समस्या समाधान हुने आशा गरेका छौं।’

उनका अनुसार प्रत्येक वर्ष खुटिया नदीले स्थानीयको जग्गा कटानी गर्दै आएको छ। कटान बढी हुने क्षेत्रमा तटबन्धनको काम पनि शुरू गरेको उनले बताए।

पुल नहुँदा जाेखिमपूर्ण यात्रा।

ताजा समाचार

सम्बन्धित समाचार