Wednesday, October 2, 2024

बिमस्टेक : यी तीन रूटमा सकेसम्म यात्रा नगर्नुहोस्

काठमाडौं– १४ र १५ भदौमा काठमाडौंमा आयोजना हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई लक्षित गरी बुधबारदेखि काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमा जोरबिजोर नम्बर प्रणाली लागू गरिएको छ।

बिजाेर नम्बर प्लेटका गाडी मात्र चल्दा यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन्। फाेटाेमा माइतीघर–थापाथली सडकखण्ड।

बिमस्टेकमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भन्दै गृह मन्त्रालय अन्तर्गत सुरक्षा महाशाखाको निर्णय अनुसार ट्राफिक प्रहरीले १३, १४ र १५ भदौका लागि उपत्यकामा गुड्ने निजी र भाडाका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको हो।

जसअन्तर्गत बुधबार बिहान ६ देखिराति १० बजेसम्मका लागि जोरबिजोर लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी राजकुमार लम्सालले जानकारी दिए। उनका अनुसार बुधबार सवारीसाधनको नम्बर प्लेटको अन्तिम अंक बिजोर भएका निजी तथा सार्वजनिक सवारी साधन चलिरहेका छन्। राति १० देखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी सञ्चालनमा आउनसक्ने महाशाखाले जनाएको छ।

बुधबार बिजाेर नम्बर प्लेटका गाडी गुडेका छन् भने बिहीबार जाेर नम्बर प्लेट र शुक्रबार बिजाेर नम्बर प्लेटका गाडी गुड्नेछन्।

काठमाडौंका सडकमा बुधबार बिजोर नम्बर प्लेटका गाडी मात्र चल्दा यात्रुले सास्ती भोग्नु परेको छ। निकै कम संख्यामा गाडी गुड्दा अतिआवश्यक कामका लागि निस्किएका यात्रुले लामो समयसम्म सवारी पर्खनुपर्ने बाध्यता छ, भने झुण्डिएर गन्तव्य पुग्नुपर्ने बाध्यता आइलागेको हो।

विशेषगरी विशिष्ट पाहुनाको सवारीका लागि भनेर त्रिभुवन अन्तर्राट्रिय विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल सोल्टी होटलसम्म तय गरिएका रूटमा यात्रा गर्ने यात्रुले झनै सास्ती भोग्नु परेको हो।

एसपी लम्सालका अनुसार त्रिभुवन विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रूट निर्धारण गरिएको छ, भने बाँकी दुई वटा बैकल्पिक रूट छन्।

बैकल्पिक रूटमा त्रिभुवन विमानस्थलदेखि गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म तथा विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को बैकल्पिक रूट तय गरिएको छ।

एसपी लम्साल भन्छन्, ‘विशिष्ट पाहुनाको सवारी मुख्य रूट बाहेक बैकल्पिक रूटबाट पनि हुन सक्छ। त्यसैले ती रूटबाट अतिआवश्यक काम बाहेक यात्रा नगरेकै राम्रो।’ यद्यपी, विशिष्ट पाहुनाको सवारी भइरहेका बेला सवारीसाधन बैकल्पिक रूटबाट डाइभर्ट गरेर गन्तव्यतिर प्रस्थान गराउने गरिएको जानकारी दिँदै उनले भने, ‘अन्य बेला ती रूटमा गाडी गुडे पनि केही समस्या आउन सक्छ।’

विशिष्ट पाहुनाका लागि तय गरिएका रूटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ, भने ती रूटमा सार्वजनिक सवारीसाधन निकै कम मात्र चल्दा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ।

ट्राफिक प्रहरीका अनसार बिमस्टेक सम्मेलनमा सहभागी हुन पास लिएका विशिष्ट व्यक्तिका सवारी, हरियो नम्बर प्लेटका पर्यटक गाडि, अत्यावश्यक सेवाका सवारी, आकास्मिक सेवाका सवारी, सरकारी संस्थान तथा कुटनीतिक नियोगका सवारी र सूचना विभागबाट प्रेस पास लिएका सवारीसाधनमा भने जोरबिजोर लागू हुने छैन।

यसैगरी, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई अवरोध नरहेको एसपी लम्सालले बताए। काठमाडौको खुल्लामञ्चस्थित अस्थायी बसपार्क मंगलबारबाट १६ गते सम्मका लागि बन्द गरिसकिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार