Tuesday, October 1, 2024

विपदमा आश्रयका लागि सुरक्षित भवन

नेपालगञ्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाले बाढी तथा डुबानको उच्च जोखिममा रहेको बैजापुरका बासिन्दाहलाई सुरक्षित राख्न चार वटा सुरक्षित आश्रय भवन निर्माण गरेको छ।

बाढी र डुबानका बेला स्थानीय बासिन्दालाई सुरक्षित राख्न निर्माण भएको पक्की सामुदायिक भवन ।

बर्षातका बेला राप्ती नदीको बाढी गाउँमा पसेर घर भत्काउने समस्या बढ्दै गएपछि गाउँपालिकाले चार वटा पक्की भवन निर्माण गरेको हो।

निर्माण भएको भवने जमिनको सतहदेखि ५ फिटमाथि छ। १ सय ५० जनासम्म बस्न मिल्ने तीन वटा र करीब पाँच सय जना बस्न मिल्ने एउटा गरी चार वटा भवन निर्माण गरिएको हो।

बाढी आउने सम्भावना रहेमा स्थानीय बासिन्दालाई आश्रय स्थलमा पठाइने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए। ‘घरका बालबालिका तथा बृद्धबृद्धासहित अत्यावश्यक सामग्री लिएर सुरक्षित ठाउँमा सहज रुपमा बस्ने व्यवस्था मिलाउन भवन बनाइएको हो,’ उनले भने।

सेभ दि चिल्डेनको करीब एक करोडको लागतमा बैजापुरको राप्ती सोनारी गाउँपालिकाको ३ को खैरेनी, पस्रामपुर र ललहीमा ३ वटा भवन निर्माण भइरहेको छ।

त्यसैगरी तराई भूपरिधि कार्यक्रम तालको ५५ लाख, गाउँपालिकाको १९ लाख र जनश्रमदान ४ लाख गरी ७८ लाखको लागतमा बाढी तथा भूकम्प प्रतिरोधी २ तले पक्की बहुउद्देश्य सामुदायिक भवन निर्माण गरिएको तराई भू परिधि कार्यक्रम तालका सहप्रबन्धक गौतम पौडेलले बताए।

बर्षातका बेला बाढी तथा डुबानको जोखिममा रहेका मानिसलाई सुरक्षित रुपमा बस्न मिल्ने र अन्य समयमा स्थानीय सामुदायिक बनका उपभोक्ताले सामुहिक काममा सुरक्षित भबनलाई उपयोग गर्ने पौडेलले बताए।

बाढी र डुबानबाट प्रभावित क्षेत्रका बासिन्दालाई बाढीको बेला सुरक्षित रुपमा बस्न सहज होस् भनेर बाढी र भूकम्पबाट प्रतिरोधी खानेपानी र शौचालय सहितको भवन निर्माण गरिएको सेभ दि चिल्डेनका निर्माण संयोजक इन्जिनियर रोशन जोशीले बताए।

बाढी र डुबानको जोखिबाट स्थानीय बासिन्दालाई सुरक्षित राख्न निर्माण गरिएको अध्यक्ष थारुले बताए।
गाउँपालिकाले बाढी तथा डुबानको जोखिम भएका सबै वडामा कम्तीमा एउटा सुरक्षित भवन निर्माण गर्ने लक्ष्य अनुसार यसपालिदेखि सुरक्षित भवन निर्माणको काम शुरु गरिएको उनले बताए।

बाढी र डुबानका बेला स्थानीय बासिन्दालाई सुरक्षित राख्न निर्माण गरिएको आश्रित भवन

सुरक्षित आश्रय घर बनेपछि बाढीका बेला परिवारका बालबालिका तथा बृद्धबृद्धासहित अत्यावश्यक घरायसी सामान लिएर सुरक्षित आश्रय घरमा गएर बस्न सहज हुने स्थानीय सुमन थारुले बताइन्।

राप्ती सोनारी गाउँपालिकाका अधिकाश गाउँमा कच्ची घर छन् । राप्ती नदीको पानी बस्तीमा पस्दा अधिकाश ती घर भत्किने जोखिम उत्तिकै रहन्छ। गत वर्षको बाढीबाट बाँकेको राप्ती सोनारी गाउँपालिकाको लालपुरमा घर भत्किदा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको थियो ।

राप्ती सोनारी गाउँपालिकाले सेभ दि चिल्डेनको सहयोगमा बाढीबाट घर भत्किएका गरीब तथा विपन्न समुदायका १ हजार ४ परिवारलाई सुरक्षित घर बनाउन प्रति परिवार २० हजार रुपैयाँका दरले जस्तापाता, छड, सिमेन्ट, फलामका किला काटी लगायतका सामग्रीहरु वितरण गरेको छ।  बाढीबाट राप्ती सोनारी गाउ पालिकामा मात्रै गत वर्ष ५ हजार ३ सय १३ घर भत्किएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार