Tuesday, October 1, 2024

बागमती ‘महाजलजात्रा शनिबार, १८ नदीको जल बिसर्जन गरिने

काठमाडौं– बागमती नदी महोत्सव–२०७५ ‘महाजलजात्रा’ को १८ औं संस्करण ९ भदौ शनिबार हुने भएको छ।

नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजना हुने ‘महाजलजात्रा’ का क्रममा बागमतीको जलसँग जोडिएर विभिन्न क्रियाकलापहरु हुने समितिका अध्यक्ष मेघ आलेले जानकारी दिए।

उनका अनुसार ‘महाजलजात्रा’मा देशका विभिन्न १८ वटा नदीका जललाई बागमतीमा विसर्जन गरि जात्रा शुरु गरिनेछ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विभिन्न संघसंस्थाको सहकार्यमा कुपण्डोलस्थिति बागमती पुल नजिकै १७ वर्षदेखि मनाइँदै आएको बागमती नदी महोत्सव २१आैं शताब्दीको महोत्सव महाजलजात्राको १८औं संस्करण शनिबार हुन लागेको हो।

बागमती सफाइ महाअभियान, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसिएसन अफ ¥याफिटिङ एजेन्सिज् र हिमालयन रिभर गाइड एसोसिएसन नेपालको सहायतामा जलयात्रा हुन लागेको हो।

बागमती सफाइ महाअभियानको २ सय ७६ औं साताको अवसरमा हुन लागेको महाजात्राको उद्घाटन वरिष्ठ वातावरण पत्रकार भैरब रिसालले गर्ने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिए। महाजलजात्रामा कुपण्डोलदेखि चोभार सुन्दरीघाटसम्म विभिन्न १५ वटा ¥याफ्टमा बागमती नदीमा जलयात्रा गरिने अध्यक्ष आलेले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

महाजलजात्रामा सहभागी हुन आउने संघ संस्थाले ल्याएका वातावरणमैत्री ब्यानर, तुल तथा अन्य सामग्रीका आधारमा पुरस्कृत गरिने पनि उनले बताए।

शनिबार विहान ७ बजेदेखि सरसफाइ महाअभियान अन्तर्गत बागमतीको सफाइ हुनेछ। त्यसलगत्तै एक घण्टा औपचारिक कार्यक्रम हुने र त्यसपछि जलजात्रा हुने आलेले बताए। ७ हजार सहभागी अनुमान गरिएको जात्राको रात्रिकालीन समयमा १ सय ८ बत्ती बालेर नदीमा बगाइनेछ।

जात्राका मुख्य उद्देश्य बागमती नदीलाई संरक्षण गर्दै यसलाई पुरानै अवस्थामा पुर्याउनु रहेको जनाएको छ । बागमती नदीलाई माछा खेल्न योग्य, पौडी खेल्न योग्य तथा पानी खान योग्य बनाउने तयारीका लागि पनि सचेतना आवश्यक भएको समितिले जनाएको छ।

बागमती नदीको पुरातात्विक अर्थ र महत्व रहेको भन्दै उसले मृतकहरूका लागि शुद्ध जल तर्पण र पौराणिक बाग्मतीका रूपमा बाग्मतीलाई विकास गर्नु सबैको दायित्व भएको जनाएको छ। कार्यक्रममा वन तथा वातावरणमनत्री, शहरी विकास मन्त्री, ऊर्जा मन्त्री, पर्यटन मन्त्री र खेलकुद मन्त्रीलाई पनि निम्तो दिइएको उनले बताए।

इतिहास बोकेको बागमती नदीको संरक्षणमा यस्ता किसिमका महोत्सव फलदायी हुने नेपाल पर्यटन बोर्डका सिनीयर म्यानेजर लिला बानियाँले बताए। ‘नदी वरपर धेरै पुरातात्विक सम्पदा छन्, ती सम्पदा हेर्न पर्यटक लालायित हुन्छन्, बागमती नदीको संरक्षण भएमा ती सम्पदा पनि संरक्षणमा टेवा पुग्छ,’ उनले भने। नदी संरक्षण संसथाका अध्यक्ष आलेले होटलको लबीमा मात्र सफाइ भइरहेकोमा नदीभित्रै गएर संरक्षणको आवाज उठाउन आफूहरु सफल भएको बताए।

फ्रेन्ड्स क्लबका अध्यक्ष पौडेलका अनुसार यस्तो महोत्सवले बाग्मतीको महत्व दर्शाइ नदी वरपर किनारका जमिनको संरक्षणमा टेवा दिनेछ। ‘ती जग्गा जोगिएर आए, क्लबले फुटबलका लागि मैदान पाउने थियो। जुन जोगाउन क्लब सफल हुने थियो,’ उनले भने, ‘ पर्यावरणसँगै समाजका बालबालिकाको मानसीक र शारिरीक विकासमा पनि टेवा पुग्ने थियो।’

ताजा समाचार

सम्बन्धित समाचार