काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा पहिरो खस्दा खुसी शिर्षकमा मोहन शाहीको समाचार छापिएको छ। वर्षाका बेला पहाडी गाउँबस्तीका सबैजसोलाई पहिरोकै पिरलो हुन्छ । डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि भने यो अपवाद हो ।
यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुःखी हुँदैनन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन । बरु गाउँलेको आयस्तर बढ्छ । यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुन्छन् ।
पहिरोसँगै गाउँमा रौनक आउँछ । पहिरो खस्नेबित्तिकै पत्थर बटुल्नेहरूबीच तँछाडमछाड सुरु भइहाल्छ । सौखोलाकी ६८ वर्षीया गौमती बोहरा १३ वर्षको उमेरदेखि पत्थर बटुल्ने काम गरिरहेको बताउँछिन् । अहिले उनी जान नसके पनि बुहारी रतना परिवारका अरूहरूको हुलै बाँधेर पत्थर लिन जाने गरेकी छन् । गिरीचौकाको यो पत्थर डोटी, बझाङ र बैतडीका विभिन्न क्षेत्रमा निर्यात हुने गरेको छ ।
सिल्लभीर नजिक गाउँ छैनन् । यहाँ बर्सेनि सुक्खा पहिरो जाने गर्छ । यो अग्लो भीर भएकाले सामान्य घाम लाग्दा अथवा पानी पर्दा पनि पहिरो जाने गर्छ । पत्थर संकलनबाटै जीविकोपार्जन गर्ने परिवार पनि गिरीचौकामा छन् ।
छानो छाउनुपर्दा एउटा घरका लागि बढीमा १ लाख रुपैयाँसम्मको पत्थर आवश्यक पर्ने स्थानीय नरबहादुर ढाँटले बताए । साविकको गाविसमा सचिवको काम गरेका भरतबहादुर नेपालीले पत्थर संकलनबाट एउटा परिवारले एक लाख रुपैयाँसम्म आम्दानी गरेको बताए । तर, अब भने आदर्श गाउँपालिकाले पत्थर संकलन र बिक्रीमा पनि कर लगाउने सोचाइ बनाइरहेको वडाध्यक्ष लालबहादुर कठायतले बताए । उनले खेर गइरहेको प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न आफूहरू स्थानीयसँग छलफल गरिरहेको बताए ।
‘म सानो छँदादेखि नै पहिरो खस्दा पत्थर संलकन गरेर खरिदबिक्री हुन थालेको हो,’ स्थानीय वयोवृद्ध शंकर विकले भने, ‘अहिलेसम्म यहाँबाट करोड रुपैयाँभन्दा माथिको पत्थर बिक्री भइसकेको होला ।’ वर्षायाममा बाढी आउँदा नदी किनारमा काठदाउरा संकलन गर्न गाउँले जम्मा भएसरह गिरीचौकामा पत्थर संकलन हुने गरेको विकले बताएको समाचारमा उल्लेख छ ।
नागरिक
– आजको नागरिकमा सिक्टा सिँचाइमा अनियमितता : पूर्वी नहरको सर्वे डिजाइन नै फेल शिर्षकमा अर्जुन ओलीको समाचार छापिएको छ । सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन पूर्वी नहरको सर्वे डिजाइन नै फेल भएको खुलासा भएको छ। पहिलोपटक गरिएको सर्वे डिजाइन फेल भएपछि आयोजनाले आर्थिक भार थपेर नहरको पुनः नयाँ डिजाइन गराएको छ। उक्त नहर निर्माणका लागि ठेकेदार ‘कालिका कुमार जेभी’ सँग २०७४ साउन १० ९२४ जुलाइ २०१७० मा सम्झौता भएको थियो। तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रूपैयाँको लागतमा सम्झौता भएको उक्त काम सम्पन्न गर्न ठेकेदारलाई २८ महिनाको समय दिइएको छ। यसका लागि ठेकेदारले २०७६ कात्तिक २५ गतेभित्र पूर्वी मूल नहरको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेछ।
तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतको पालामा सम्झौता भएको उक्त नहरको सर्वे डिजाइन फेल भएपछि दोस्रोपटक डिजाइन परिर्वतन गर्नुपरेको हो। ठेक्का लगाउने होडले हतारमा गरिएको डिजाइन फेल भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार ठेक्का स्वीकृत गराउने आयोजना निर्देशकले १ देखि २ प्रतिशतसम्म कमिसन पाउँछन्। नहरको ठेक्का सम्झौता हुनुअघि सर्वे, डिजाइन र इस्टिमेट गर्ने जिम्मा आयोजनाले एक परामर्शदाता कम्पनीलाई दिएको थियो।
उक्त परामर्शदाता कम्पनीले आयोजना कार्यालयसँग भुक्तानी समेत लिइसकेको बताइएको छ। सम्झौता पश्चात सर्वे डिजाइन फेल भएको पुष्टि भएपछि आयोजनाले पुनः नयाँ परामर्शदातालाई डिजाइनको जिम्मा दिएको छ। मूल नहरको सुपरीवेक्षण गर्ने जिम्मा पाएको अर्को परामर्शदाता कम्पनीलाई नै थप बजेट दिएर डिजाइन गर्न दिइएको छ।
सर्वे डिजाइन फेल भएपछि पूर्वी मूल नहर निर्माणको काममा झमेला उत्पन्न हुने खतरा देखिएको छ। ‘सर्वे डिजाइन एक खालको थियो, अहिले नयाँ डिजाइन अर्को बनेको छ,’ आयोजनाका एक इन्जिनियरले भने ‘डिजाइन परिवर्तन भएपछि नहरभित्र स्वाभाविक रुपले थप रुख पर्छन्, भविष्यमा ती रुख हटाउँदा पुनः नीतिगत समस्या आउन सक्छ।’
आयोजनाका साइट इन्जिनियर विजयकुमार झाले पूर्वी नहरको सर्वे डिजाइन परिवर्तन भएको स्वीकार गरे। ‘हतारमा सर्वे गरी डिजाइन गरियो, आखिर फेल नै भयो,’ उनले भने ‘डिजाइन गर्दा अलि गहिराईमा पुगेर अध्ययन गर्नुपथ्र्यो, अहिले पुनः डिजाइन परिर्वतन गरी काम गर्नुपर्ने अवस्था आएको छ, यदी सर्वे डिजाइन अनुसार काम सम्पन्न गरेको भए भविष्यमा राप्तीको पानी चढाउनै कठिन हुन्थ्यो।’ नयाँ डिजाइन अनुसार मुल नहरलाई करिव २ मिटर सम्म गहिरो र केही चौडाई बढाइएको छ। ‘सर्वे डिजाइन अनुसार नै टेन्डर स्वीकृत भएको हो, अहिले डिजाइन परिर्वतन भएपछि गहिराई र चौडाई बढेको छ,’ झाले भने ‘लेभल फरक परेपछि स्वभाविक रुपले अरु कुरा पनि फरक पर्ने नै भयो।’
सर्वे डिजाइन फेल भएपछि आयोजनाले परामर्शदातालाई लगानी गरेको करोडौं बजेट बालुवामा पानी हालेझै भएको इन्जिनियर बताउँछन्। ‘हतारमा ठेक्का लगाउने आयोजना निर्देशकको कमजोरी छ, अर्कोतिर परामर्शदाता कम्पनीले पनि बिना अध्ययन हतारमा डिजाइन गर्दा फेल हुन पुगेको हो,’ आयोजनाका एक इन्जिनियरले भने। नयाँ डिजाइन अनुसार आयोजना कार्यालयले ३.३ किलोमिटर सम्म मात्र नहरको डिजाइन स्वीकृत गरेको समाचारमा उल्लेख छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा रानीपोखरीमा फेरि किचलो शिर्षकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणमा फेरि विवाद सुरु भएको छ। विज्ञ समितिले दिएको प्रतिवेदनविपरीत पुरातत्व विभागले राणाकालीन गुम्बज शैलीमा मन्दिर निर्माण थालेपछि विवाद भएको हो। १५ दिन अघिदेखि बालगोपालेश्वर मन्दिर निर्माण सुरु भएको थियो।
विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको विज्ञ समितिले मल्लकालीन शिखर शैली (ग्रन्थकुट)मा रानीपोखरी निर्माण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिएको थियो।
समितिले रानीपोखरी ‘प्रताप मल्लकालीन शैली’ र २ सय ५० वर्षअघिको बालगोपालेश्वर मन्दिर ‘ग्रन्थकुट’ शैलीमा पुनर्निर्माण गर्न सुझावसहितको प्रतिवेदन २०७४ माघ ७ गते मा बुझाएको थियो। प्रतिवेदनमा पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषोत्तम डंगोल, डिभिजन इन्जिनियर सम्पत्ति घिमिरे र विभागकै प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘मन्दिर पुनर्निर्माण ‘ग्रन्थकुट’ मा गर्न नसकिने भन्दै हस्ताक्षर गरेका प्रतिवेदनमा हस्ताक्षर गरेका थिएनन्। हस्ताक्षर नगरेको बहाना बनाउँदै विभागले जुद्धशमशेरले जीर्णोद्धार गरेअनुरूपकै ‘गुजम्ब’ शैलीमा निर्माण थालिएको छ।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने विज्ञ समितिको प्रतिवेदनविपरीत मन्दिर बनाउन लागिएको बताएका छन्। काठमाडौं महानगरपालिका र पुरातत्व विभागले नै गठन गरेको विज्ञ सम्मिलित समितिको सुझावलाई लत्याउनु सम्पदामाथिको प्रहार भएको उनउको भनाइ छ।
तत्काल शिखर शैलीमा मन्दिर निर्माण गर्न उनको सुझाव छ। विभाग र महानगर त्यसबारेमा सचेतसमेत रहेको उनले बताए। ‘पुरातत्व विभागले फेरि इतिहास मेटाउने काम गरेको छ, विज्ञ समितिले दिएको प्रतिवेदन बेवास्ता गरेर गुम्बज शैलीमा नै बनाएको छ’, उनले भने।
विभागले १ करोड ४० लाख रुपैयाँ लागतमा बालगोपालेश्वर मन्दिर निर्माण गरिरहेको छ। विभागका महानिर्देशक भेषनारायण दाहाल उक्त विषयमा आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिनबाट पन्छिएका छन्।