Friday, September 20, 2024

झापामा कागती खेती फस्टाउँदै

भद्रपुर– पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् ।

छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

६ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा रु ५० देखि रु १५० सम्ममा यूरेका, मद्रासी र गुजराती जातका कागतीका बिरुवा ल्याएर कागती खेती शुरु गरेका हुन् । उनले डेढ विघामा कागती खेती गर्नुभएको छ । कागतीको दाना बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्दै आएका छन् । वर्षमा कागतीले तीन पटकसम्म फल दिन्छ ।

“कागती खेतीबाट सोचेको भन्दा बढी आम्दानी भयो,” रेग्मीले भने, “बजारको समस्या छैन, व्यापारी घरमै आएर कागती लैजान्छन् ।” उनले खेती विस्तार गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिका–१ बुधबारेमा सात बिघा जग्गा भाडामा लिएका छन् । उक्त जग्गामा रेग्मीले कागतीको बिरुवा उत्पादन गर्न थाल्नु भएको छ ।

मेचीनगर–९ का डिल्लीप्रसाद उप्रेतीले दुई बिघामा कागती खेती गरेका छन् । उहाँले १२ कट्ठाबाट शुरु गरेको कागती खेती दुई बिघामा विस्तार गर्नुभएको छ । नर्सरीसहित कागती खेतीबाट वार्षिक रु २४ लाखसम्म आम्दानी गरेको उनले वताए । नर्सरीमा हाल एनसीआरपी–५५, सुन–१, चाइनिज र यूरिका जातका कागतीका बिरुवा छन् । जिल्लामा ४० भन्दा बढी किसानले व्यावसायिक रूपमा कागती खेती गर्दै आएका बताइएको छ । उप्रेतीले प्रतिगोटा रु १०० मा बिरुवा बिक्री गर्दै आएका छन् ।

काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई आर्थिक वर्ष २०७४/७५ मा कागतीको बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार