कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ।
नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ।
चालू आवमा सनबोरा नदीमा रु १० लाखको लागतमा ३५ मिटर र स्याली नदीमा रु छ लाखको लागतमा ३० मिटर तटबन्ध निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए।
बजार विस्तार गर्न व्यावसायिक भवन निर्माण
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा वडा कार्यालयले व्यावसायिक भवन निर्माणको कार्य शुरु गरेको छ । बजार विस्तार गर्न र वडा कार्यालयको आम्दानीमा वृद्धि गर्नका लागि व्यावसायिक भवन निर्माणको कार्य शुरु गरिएको हो।
वडा कार्यालयले रु १२ लाखको बजेटमा भवनको जग राख्ने र पिल्लर उठाउने कार्य पूरा गरेको छ। निर्माणाधीन भवनमा सातवटा व्यावसायिक प्रयोजनका लागि कोठा निर्माण गरिने वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए।
“चालू आवमा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु २० लाख बजेट विनियोजन गरेका छौँ” उनले भने । भवन भूकम्प प्रतिरोधी र आधुनिक हुने उनले बताए। नयाँ भवन निर्माणको कार्य पूरा गर्ने र थप रु ३० लाखमा आठ कोठे भवन बनाउनका लागि बजेट विनियोजन गरी चाँडै कार्य प्रारम्भ गरिने उनको भनाइ रहेको छ ।
यसैगरी रु दुई लाख रकम खर्चेर रामेश्वर शिव मन्दिरको पर्खाल निर्माणको कार्यसमेत पूरा गरिएको छ । मन्दिरलाई भजनकीर्तनमा सघाउ पु¥याउन रु ५० हजारको वाद्यबाधन सामग्रीसमेत उपलब्ध गराइएको छ । सिद्धनाथ मन्दिरमा वडाकै रु ५० हजार रकम खर्चेर शौचालय निर्माण गरिएको छ । रासस