Thursday, October 31, 2024

पत्रपत्रिकामा आज : गाउँ निर्माणको जिम्मा युवालाई, तराईमा उधुम गर्मी

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयका समाचार छापिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा गाउँ निर्माणको जिम्मा युवालाई शिर्षकमा तुलाराम पाण्डेको समाचार छापिएको छ । पलाता गाउँपालिकाले ‘विकास निर्माण कार्यदल’ गठन गरी युवालाई वर्षभरि रोजगारी दिन थालेको छ । ‘सके खाडी नसके काला पहाड’ भन्दै बिदेसिने युवालाई गाउँमै रोक्न कार्यदल गठन गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बमले पलातामा युवा पलायन रोक्न गत वर्षदेखि कार्यदल गठन गरेर परिचालन गरिएको बताए । ‘आफ्नो गाउँठाउँ बनाउन युवा सहभागिता महत्त्वपूर्ण छ,’ उनले भने, ‘पलायन रोक्न गाउँपालिकाले बजेटसहित निर्माणको जिम्मा युवालाई दिएको छ ।’ गत वर्ष प्रत्येक वडाबाट १०र१० जनाका दरले ९० र गाउँपालिका अध्यक्षले छनोट गरेका १० गरी सय युवा छनोट गरिएका थिए । गाउँपालिकाले यस वर्ष एक सय ५० युवालाई नियुक्ति नै दिएर मासिक २४ हजार रुपैयाँ पाउने गरी निर्माणमा खटाएको छ । गत वर्ष विकास निर्माणमा विनियोजित बजेटबाटै दैनिक ८ सय ज्याला पाएका युवालाई यस वर्ष मासिक रूपमा तलब दिन गाउँपालिकाले नीति बनाएरै २ करोड ९० लाख बजेट छुट्याएको छ ।

साबिकका थिर्पु, खीन र धौलागोह गाविस मिलेर बनेको पलाता बर्सेनि सुक्खा खडेरी, खाद्यान्न अभाव, यातायातको असुविधा र खानेपानी अभावजस्ता समस्यासँग जुध्दै आएको छ । हिउँदमा गाउँमा वृद्ध, महिला र बालबालिका मात्र घरमा बस्ने गर्छन् । युवा रोजगारीका लागि खाडी तथा भारतको कालापहाड जान बाध्य छन् ।

निर्माण कार्यदलका लागि पोसाक, एक लाख ५० हजारको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । महिनामा २४ दिन विकास निर्माणको काममा खटिने युवाले ६ दिन सरसफाइमा संलग्न हुने गरेको स्थानीय युवा पूर्णसिंह बमले बताए । कार्य दलका सदस्यले सामाजिक लगानी कोषबापत मासिक २ हजार जम्मा गर्ने गरेका छन् भने व्यक्तिगत मुद्दती खातामा मासिक २ हजार जम्मा गर्छन् ।

गत वर्ष आफ्नै गाउँपालिकामा बसेर निर्माणको काम गर्दा एक लाख १८ हजार रुपैयाँ कमाइ भएको वडा ९ की सुलछिना बमले बताइन् । कक्षा १२ सम्म अध्ययन गरेकी बम गाउँमा बेरोजगार थिइन् । गाउपालिकाले १५ जनाको दरले समूह विभाजन गरी खानेपानी निर्माण, सडक निर्माण र विद्यालय भवन निर्माणजस्ता काममा खटाएको छ । कार्यदललाई व्यवस्थित रूपले सञ्चालन गर्न ९ वडाका ९ जना टोली कमान्डर र एक गाउँपालिका अध्यक्षसँग रहने गरी १० वटा सञ्चार सेट पनि यसै महिनादेखि उपलब्ध गराउने तयारी छ । गाउँ छाडेर हिँड्ने युवालाई आफ्नै गाउँमै आर्कषण प्याकेज सञ्चालन गर्नु राम्रो काम भएको राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले बताए ।

गाउँपालिकाले आगामी वर्षभित्र एक घर एक धारा, एक बस्ती एक ट्ंयाकी, एक गाउँ एक उत्पादन, सबै वडामा सडक सञ्जाल पुर्‍याउन काम गरिरहेको जनाएको छ । पलाताका खीन, धौलागोह र थिर्पुमा खानेपानी पुर्‍याउन गाउँपालिकाले वार्षिक पुँजीगत बजेटको २० प्रतिशत रकम विनियोजन गरेको छ । वस्तीबाट २४ किलोमटिर टाढाको खानेपानी धौलागोहमा ल्याउन पानबहादुर रोकाया, देव विश्वकर्मा र धर्मदत्त न्यौपानेको नेतृत्वमा ३ वटा समूह तलसेरी खानेपानी र विद्यालय निर्माणमा खटाएको समाचारमा उल्लेख छ ।

त्यस्तै सडकमा सास्ती शिर्षकमा चन्द्र कार्कीको समाचार छापिएको छ । गत असारमा फेदाप गाउँपालिकाको सम्दु गाउँका ५२ वर्षीय नगेन्द्र चोङबाङलाई हृदयाघात भयो । उपचारका लागि धरान लैजाँदै गर्दा उनी सवार गाडी हिलामा भासियो । निस्कन नसकेपछि उनको गाडीमै मृत्यु भयो । गत असारमै शल्यक्रियापछि प्रसूति भएकी म्याङलुङ ५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई ३ लाख ६० हजार रुपैयाँ ऋण खोजेर उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लगियो । वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक हिलाम्मे हुँदा आफन्त यस्तो विकल्प रोज्न बाध्य भएका थिए ।

गत वर्ष वसन्तपुर–म्याङलुङ–च्याक्चे खण्डको हिलोमा चिप्लेर मोटरसाइकल खोलामा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकलमा सवार अर्का गम्भीर घाइते भए । गत वर्ष नै जिरीखिम्ती–म्याङलुङबीचको गढी भीरको साँघुरो सडकमा औंसी डाँडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

यही सडक भएर धरान जाँदै गरेको बस दुई वर्षअघि सिंधुवा नजिक दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित २० जनाको मृत्यु भएको थियो । ३० जना घाइते भए ।
यो सडक खण्डमा यीबाहेक दुर्घटनामा परेका साना सवारी र ट्याक्टरको सूची लामो छ । यो संख्या प्रत्येक महिना बढिरहेको छ । सबै दुर्घटनाको मुख्य कारण सडकको दूरवस्था हो । जिल्ला सदरमुकाम जोड्ने एकमात्र वसन्तपुर–म्याङलुुङ २६ किलोमिटर सडकमा ज्यान गुमाउने र सास्ती भोग्नेहरूको सूची निकै लामो छ ।

करोडौं रकम खर्चेर पटक–पटक कालोपत्रे र मर्मत गरिए पनि यो सडकमा अहिले सवारी गुडदैनन् । समयमै अस्पताल पुग्न नसक्दा धेरै जिल्लावासीले अकालमा ज्यान गुमाइरहेको पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले बताए । हिलो र कच्ची सडकमा सवारी दुर्घटनाको संख्या पनि बर्सेनि बढिरहेको जिल्ला ट्राफिक प्रमुख योगेन्द्र दाहालले बताएको समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा सडक बेथिति : पाहुना आउँदा चिटिक्क, अरू बेला लथालिंग शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो। मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो।

तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा पनि उपत्यकाका सडक रातारात चिल्ला बनाइएका थिए। ट्यांकरको पानी खन्याएर सडक सफा गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ साउन १८ गते नेपालको राजकीय भ्रमणमा आउँदा काठमाडौं उपत्यका सिँगारेर दुलहीजस्तै बनाइएको थियो। त्यसको तीन महिनापछि काठमाडौंमा सार्क शिखर सम्मेलन भयो। सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए। उक्त अवधिमा पनि काठमाडौं उपत्यकाका सडकमा अर्बौं रुपैयाँ खर्च गरियो।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन आयोजनास्थल सोल्टी होटलसम्मको सडक मर्मत गर्ने कार्य भइरहेको छ। दुईचार दिनयता त्रिभुवन विमानस्थल, तीनकुने, बानेश्वर–माइतीघरलगायतका स्थानमा पानी दर्किरहे पनि कालोपत्रे गर्ने कार्य रोकिएको छैन। सडकका खाल्डाखुल्डी पुर्ने तथा रेलिङ र पर्खालमा रङ लगाउने काम तीव्र गतिमा भइरहेको छ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड र म्यानमारका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आउँदैछन् । त्यसैले सरकार राजधानीका सडक चिल्लो पार्न व्यस्त छ।

‘विदेशी सरकारप्रमुख वा राष्ट्रप्रमुख आउँदा मात्रै सडकलगायतका संरचना सफा र चिटिक्क पार्ने प्रवृत्ति देखिएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले भने, ‘अरू बेला वास्तै नगर्ने तर विदेशी पाहुना आउँदा रातारात काम गर्ने सरकारी प्रवृत्तिले जनतामा चरम आक्रोश बढेको छ।’

काठमाडौंमा विदेशी अतिविशिष्ट पाहुना आउँदा होस् या अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदा सडक तथा चोक रातारात सफा गरेर चिटिक्क बनाइन्छ। सडक वरपरको वातावरणसमेत आकर्षक र हराभरा बनाइन्छ। यसरी चिटिक्क बनाइएका संरचना भने विदेशी पाहुना फर्किएसँगै पुरानै अवस्थामा पुग्छन्। कालोपत्रे गरिएको सडक खाल्डाखुल्टी र धुलोमा परिणत हुन्छ।

आसन्न बिमस्टेक सम्मेलनको पूर्वसन्ध्यामा चिटिक्क पारिएको काठमाडौंका सडक पनि सम्मेलन समापनसँगै बिग्रने निश्चित छ। उपत्यकाका सडकका खाल्डाखुल्डी बर्खे झरीको प्रवाह नगरी मर्मतसम्भार भइरहेका छन् । त्यसैले यी सडक धेरै दिन टिक्न सक्दैनन्।

वर्षौंदेखि चाबहिल–जोरपाटी–साँखु सडक र कंलकी–नागढुंगा सडक जीर्ण छन्। ‘चाबहिल जोरपाटीको अस्तव्यस्त सडक सरकारले वर्षौंसम्म देखेको नदेख्यै गर्यो,’ बौद्धका पासाङ शेर्पाले भने, ‘विदेशी पाहुना आउन लागेपछि त रातारात मर्मत गर्न सकिने रैछ नि’, नेपाली नेतालाई जनता त भोट खसाल्न मात्रै चाहिने रैछ अरू बेला त वास्तै छैन।’

कोटेश्वरका रमेश योञ्जन विदेशी पाहुना आउँदा रातारात सडक कालोपत्रे गर्न सक्ने सरकार अरू बेला भने निदाएर बस्ने गरेको बताउँछन्। ‘विदेशी पाहुना आउँदा रातारात काम गर्नेले अरू बेला किन गर्दैन,’ उनले भने, ‘के काठमाडौं सरसफाइ हुन पनि विदेशी पहुना नै कुर्नुपर्ने अवस्थामा पुगेका हौं त हामी ?’ यस्तै हो भने बाह्रैमास विदेशी पहुना बोलाएर काठमाडौंको सडक व्यवस्थित गराउन सरकार अघि बढ्नुपर्यो।’

योञ्जनको बुझाइमा सरकारले स्वदेशी जनताले जति दुःख पाए पनि वास्तै नगर्ने प्रवृत्तिका कारण समस्या आएको हो। त्यसैले जनता सडकमा ओर्लेर विरोध गर्नुपर्ने बेला भइसकेको ठम्याइ उनको छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा तराईमा उधुम गर्मी शिर्षकमा क्रान्ति शाहको समाचार छापिएको छ । गत बिहीबारदेखि गर्मी बढेका कारण पर्सा बारासहित तराईंको जनजीवन प्रभावित भएको छ। बुधबार हल्का वर्षा भएपनि त्यसयता पानी नपरेपछि गर्मी बढेको हो। गर्मीका कारण सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ।

बाराको सीमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार, गत बिहीबारदेखि पर्सा बारा र आसपासको क्षेत्रमा ३८/३९ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको छ।

बिहीबार ३८ , शुक्रबार ३८ , शनिबार ३९ र आइतबारको अधिकतम तापक्रम पनि ३९ डिग्री सेल्सियस मापन गरिएको मौसम विज्ञान विभाग फिल्ड कार्यालयका प्रमुख केशवराज खरेलले बताए। गर्मी बढेसँगै सडक र बजारमा मानिसको चहल पहल कम हुने गरेको छ।

गर्मीका कारण राति १२/१ बजेसम्म घरको कोठामा सुत्न पनि गाह्रो भइरहेको वीरगन्ज अशोक वाटिकाकी गृहीण जागो देवीले बताइन्। चर्को गर्मी र प्रचण्ड घामका कारण खास गरि दैनिक ज्यलादारीमा काम गर्ने मजदुरहरुलाइ बढि सास्ती भएको छ। त्यसै गरि ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ।

आइतबार वीरगन्जको घढटाघर चोकमा ठेला तान्दै गरेका हरिओम अहरिले बालबच्चाको हातमुख जोर्नु पर्ने बाध्यताले जति सुकै गर्मी भएपनि काम गर्र्नै पर्ने बाध्यता सुनाए। बिहानैदेखि सहनै नसक्ने चर्को घाम लाग्ने गरेकाले दिउँसोको समयमा यात्रु समेत पाउन छाडेको रिक्सा चालक वीरगन्ज अलौंका मनोज कोइरीको भनाइ छ।

गर्मीपछि अस्पतालमा बिरामीको चाप बढेको छ। भाइरल ज्वरो, झडापखालाका बिरामी बढेको चिकित्सकको भनाइ रहेको समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार