काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयका समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा बाढी पहिरोको पीडा : भत्कियो बाह्रबिसे जोड्ने पुल शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ । अविरल वर्षाले बाह्रबिसे र खुर्सानीबजार जोड्ने पुल भत्किएको छ । बाह्रबिसे नगरपालिका ३, भीरकुना र ४ कोसिनडाँडा हुँँदै बग्दै आउने साँधी खोल्सामा पहिरोले थुनिँदा आएको बाढीले पुलको कुनाको भागमा क्षति पुगेको हो । पुलमा क्षति पुगेसँगै सवारीसाधन आवागमन ठप्प छ ।
‘पुलको एक कुनो बाढीले हुत्याएर सुनकोसी छेउ पुर्याएपछि एकछेउ ढल्किएको छ,’ बाह्रबिसे बजारका सुरेन्द्र श्रेष्ठले भने । माथिबाट खसेको पहिरोले खोल्सासँगै पुलछेउको सबै भाग लाछ्दै लगेको छ । साँधी खोल्सा पुल पार गरी खुर्सानीबारी, कर्थली, घोर्थलीलगायत दर्जनौं गाउँदेखि सीमावर्ती तातोपानी क्षेत्रका बासिन्दा बाह्रबिसे बजार आउजाउ गर्छन् । ‘यो पुलबाहेक अरू विकल्प छैन, बेलमै मर्मत या पुनर्निर्माण नगरिए बाह्रबिसे बजारसँगको सम्पर्कविच्छेद हुन्छ,’ उनले भने । पुल जीर्ण बनेसँगै यात्रु पनि डराउँदै पैदल हिँड्न बाध्य छन् ।
२०२४ सालमा चीनको सहयोगमा बनेको साँधी खोल्सा पुल घिर्नी प्रयोग गरी राखिएको थियो । पुरानो र पक्की मानिएको पुल धरापमा परेपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रहरीले जनाएको छ । यही बजार हुँदै सीमावर्ती क्षेत्र तातोपानीदेखि दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा ओहोरदोहोर गर्ने भएकाले तत्कालै पुल मर्मत गर्नुपर्ने स्थानीयको माग छ । प्राविधिकले पनि पहिरो रोकथामको काम तत्काल थाल्नुपर्ने देखिएको सुझाएका छन् । भीरकुना गाउँ हुँदै बजार झरेको साँधी खोला बढ्नु र सुनकोसीको सतह माथि आउने जोखिमबाट बच्न बेलैमा रोकथाम नगरिए बजार पनि संकटमा पर्ने स्थानीय दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘पुल यही तरिकाले कोसी छेउ ढल्कँदै गए, बजारलाई असर पुग्छ,’ उनले भने । बाह्रबिसेबाट पारि जोड्ने दुईवटै पुल जीर्ण छन् । बाह्रबिसेबाट पारी जोड्ने ५० वर्ष पुरानो बाह्रबिसे पुल कोसीको कटानले खिइँदै गएको छ । खुर्सानीबारी बजार जोड्ने साँधी खोल्सा लच्किएको छ ।
‘बजार क्षेत्रमा जोखिम बढेसँगै सबैलाई सतर्क गराएका छौं,’ प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने, ‘सुरक्षा र उद्धारका लागि प्रहरी तयार छ ।’ पुल छेउतर्फ ढल्किरहेकाले सुरक्षाका लागि सवारीसाधन आउजाउमा रोक लगाइएको उनले सुनाए । ‘कुनाको भाग हुत्तिएर छेउमा ढल्किएकाले जोखिम धेरै छ,’ उनले भने, ‘हेलचेक्रयाइँ गरे दुर्घटना निम्तिन सक्छ ।’
त्यस्तै केरलामा शताब्दीकै भीषण बाढी शिर्षकमा अन्तराष्ट्रिय समाचार छापिएको छ। भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगै बाढीपहिरोका कारण कम्तीमा १ सय ८६ जनाको मृत्यु भएको छ। अधिकारीहरूले बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरबारविहीन भएको जनाएका छन् । अधिकांशको पहिरोले भत्केका भग्नावशेषमा पुरिएर तथा डबेर ज्यान गएको हो । बाढीग्रस्त क्षेत्रका कतिपय घरको छतमा पर्खाइमा बसेका मानिसको उद्धार गर्न नसकिएको जनाएका छन्। अधिकारीहरूले उद्धारका लागि ३८ वटा हेलिकोप्टरसहित हजारौं सुरक्षाकर्मी खटाइएको जनाएका छन् ।
एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन ३ सयभन्दा बढी डुंगा प्रयोग गरिएका छन् । बाढीपहिरोका कारण केरला राज्यमा अहिलेसम्म २ लाख १७ हजार
मानिस अस्थायी शिविरमा बसिरहेको जनाएको छ ।
मौसमविद्हरूले अझै केही दिन निरन्तर पानी परिरहने बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूले कोचिन अन्तर्राष्ट्रिय विमानस्थल एक साताका लागि बन्द गरिएको जनाएका छन् ।
बाढीको प्रकोपसँगै केरलाका १४ जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएको स्थानीय टेलिभिजनले जनाएका छन् । कतिपय जिल्लाले सुरक्षाको कारण देखाउँदै पर्यटकको भ्रमण बन्देज लगाएका छन् । भारतको जलवायु विभागले केरलामा ‘रेड अलर्ट’ जारी गरेको छ । उद्धारकर्मीहरूले बाढीमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजान प्रयास गरिरहेका छन् । बाढीपहिरोका कारण केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
केरलाका मुख्यमन्त्री पिनरायी भिजयानले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । उनले भने, ‘हामीले केरलाको इतिहासमै पहिलो पटक यस्तो विपत्को सामना गरिरहेका छौं।’ उनले पानी प्रशोधन जलाशयका सबै गेटहरू खोलिएको बताए । भारतबाट अरबी समुद्र पुग्ने ४१ नदी केरलाबाट बग्छन्। यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि मोदीले निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका हुन् । मोदीले केरला राज्यका लागि केन्द्र सरकारका तर्फबाट ५ सय करोड सहायता रकम दिने बताएका समाचारमा उल्लेख छ।
नागरिक
–अाजकाे नागरिकमा खेतमा सिँचाइ नहुँदा किसान चिन्तित शिर्षकमा निर्मल घिमिरेकाे समाचार छापिएकाे छ । राष्ट्रिय गौरव आयोजनामा सूचीकृत बबई सिँचाइ आयोजना कार्यालयमा गत आर्थिक वर्षमा तीनजना आयोजना प्रमुख आए। आयोजना प्रमुखको कार्य अवधि हेर्दा विभागीय मन्त्रीले आफू अनुकूल आयोजना प्रमुख आयोजना कार्यालयमा ल्याएको पुष्टि हुन्छ।
उमेश यादव सिँचाइ मन्त्री हुँदा आएका मधुकर राजभण्डारी विभागमा तानिएपछि सिँचाइ मन्त्रीको जिम्मेवार सम्हालेका दिपक गिरीको पालामा दानरत्न शाक्यले आयोजना प्रमुखको जिम्मेवारी सम्हाले।
उनले हिउँदमा आह्वान गरेको टेन्डरमा २७ निर्माण कम्पनीले एकैपटक काम थालेका कारण मूल नहरमा पानी रोक्दा हिउँदमा किसानले सिँचाइ गर्न पाएनन्। मूल नहर थुनेर एकैपल्ट काम थाल्नुमा कमिसनको हात भएको स्रोतको दाबी छ।
त्यसबेला किसानको गहुँ र तोरी ओइलायो। सिँचाइको आसमा बसेका किसान दुःखी भए । गहुँ छर्ने बेला र छरेको १५ दिनसम्म सिँचाइ नपाउँदा उत्पादन स्वाट्टै घट्यो। सिँचाइ नहुँदा तोरीको उत्पादन त्यस्तैगरी घट्यो । ठेकेदारको र आयोजना प्रमुख मिलेमतोमा मूल नहर मर्मत गर्दा बबई सिँचाइले गाँस खोस्न थालेको भन्दै किसान आन्दोलित भए ।
बबई सिँचाइ कार्यालय घेरे तर कतैबाटसुनवाइ भएन। किसानको आन्दोलन बबई सिँचाइ कार्यालयमा पुगेर टुंगियो । एक वर्षमा आयोजना प्रमुख सरुवा हुनुमा विभागीय मन्त्री दोषी देखिन्छन्। मन्त्री हुनेबित्तिकै तत्कालीन सिँँचाइ मन्त्री संजय गौतमले रमेशबन्धु अर्याललाई आयोजना प्रमुख बनाए। बर्दियाका मन्त्री गौतमलाई अर्यालले चित्त बुझाउन सकेनन् । परियोजनाको प्रगति नाजुक देखेका गौतमले अर्यालको सरुवा गरी पाँच महिनामै कुञ्जनभक्त श्रेष्ठलाई पठाए, जो अहिलेसम्म आयोजना प्रमुखको जिम्मेवारीमा छन्।
एक आर्थिक वर्षमा तीन आयोजना प्रमुख आए। तर, खेतमा सिँचाइ नहुँदाको पीडा कसैले अनुभूति नगरेको किसान गुनासो गर्छन्। आफू अनुकूल र पैसाको मोलमोलाइमा प्रमुख सरुवा गर्ने प्रवृत्तिले आयोजनामा प्रगति नभएको स्रोतको दाबी छ। ‘किसानलाई पानी दिने उद्देश्यका लागि सिँचाइ नहर बन्दै छ,’ स्रोतले भन्यो, ‘बर्सेनि कार्यालय प्रमुख फेर्दा अवस्था नाजुक बन्दै छ।’ वर्षभरीमा अर्ब बढी खर्च हुने कार्यालयमा ४० लाखसम्म आयोजना प्रमुखको लागि मोलमोलाइ हुने गरेको स्रोतको दाबी छ।
पाँच वर्षदेखि सिँचाइबाट बिमुख हुनुपरेको स्थानीय उपभोक्ता रामराज थारुले बताए। ‘बर्खामा बाढीले भत्काएको नहर हिउँदमा बनाउँछन्,’ उनले भने, ‘अनि किसानले कहाँबाट सिँचाइ पाउँछरु अकासे पानीको भर पर्नुपरेको छ।’
०७१ सालमा बबईमा आएको बाढीले भत्किएको नहर मर्मत गर्ने बहानामा किसान सिँचाइ सुविधा वञ्चित छन्। यता, ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण कार्य भइरहेको उपभोक्ताको आरोप छ।
‘स–साना बजेट खर्च गर्दा सार्वजनिक सुनवाइ, अनुगमन गरेपछिमात्र फस्र्यौट हुन्छ,’ एक उपभोक्ताले असन्तुष्टि व्यक्त गर्दै भने, ‘ठेकेदार र आयोजना प्रमुखको मन्त्रीसम्म पहुँच हुनाले यहाँ खर्चको लेखाजोखा हुँदैन।’ बर्सेनि कागजमा प्रगति देखिए पनि व्यवहारमा नहुने उनको आरोप रहेको समाचारमा उल्लेख छ।
त्यस्तै ब्याट्रीबाट चल्ने बस संचालन हुँदै शिर्षकमा कृष्ण किसीको समाचार छापिएको छ । नेपालमा पहिलोपटक ब्याट्रीबाट चल्ने बस सञ्चालनमा आउने भएको छ। गोर्खा इको प्यानलका उत्पादनकर्ता इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्राइभेट लिमिटेडले चीनको सियानज्याङमा निर्मित सिएनएसी ब्रान्डको बस नेपालमा ल्याउने भएको हो । पहिलो चरणमा उक्त बस काठमाडौं उपत्यकामा चलाउने बताइएको छ।
पहिला आफैले केही बस सञ्चालन गर्ने र पछि देशभर नै बिक्रीवितरण गर्ने गोर्खा इको प्यानलको योजना छ। ब्याट्रीबाट चल्ने बस नेपालभर बिक्री वितरणका गर्न आधिकारिक विक्रेताका रूपमा गोर्खा इको प्यानल र चीनको उहान प्रान्तस्थित सियानज्याङ जिउहाउ अटोमाबाइल कम्पनी लिमिटेड (सिएनएसी) बीच सम्झौता भएको छ। सम्झौतामा चिनियाँ कम्पनीका तर्फबाट महाप्रबन्धक झाङ ग्यु हान र गोर्खा इको प्यानलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णभक्त दुवालले हस्ताक्षर गरेका छन्। सिइओ एवं इन्जिनियर दुवालले आफूहरूले ब्याट्रीबाट चल्ने बस किनेर पहिलो चरणमा उपत्यकाभित्र आफैले सञ्चालन गर्ने जानकारी दिए। ‘तीन महिनाभित्र बस चलाइसक्ने हाम्रो योजना छ,’ उनले भने, ‘यसका लागि तयारी थालेका छौं।’ काठमाडौं उपत्यकाभित्र कुन रुटमा यो बस चलाउँदा उपयुक्त हुन्छ र स्टेशन कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे पनि अध्ययन भइरहेको उनले जानकारी दिए।
उनका अनुसार यस बसमा रहने लिथियम आइरन फोस्फेट ब्याट्री तीन घन्टामा पूरै चार्ज हुन्छ। एकचोटी चार्ज भएपछि दुई सय ५० किलोमिटरसम्म बस गुडाउन सकिन्छ। पहिलो चरणमा १० दशमलव ५ मिटर लम्बाइको ९० जनासम्म चढ्न मिल्ने ४० सिट भएको र साढे ६ मिटर लम्बाइको ३५ जनासम्म चढ्न मिल्ने १५ सिट भएको दुई किसिमका बस ल्याइने सिइओ दुवालले जानकारी दिए।
भारत तथा कोरियाबाट ल्याएर निजी विद्युतीय कार भने नेपालमा यसअघि नै सञ्चालनमा आइसकेका छन्। तर, सार्वजनिक सवारीसाधनका रूपमा ब्याट्रीबाट चल्ने गाडी नेपालमा पहिलोपटक सञ्चालनमा आउने लागेको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा पहिरोको त्रासले रातभर जाग्राम शिर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ । भीमेश्व्र नगरपालिका ७ साखिनेस्थित नेवार टोलकी ५९ वर्षीयाा अमृतमाया श्रेष्ठको निन्द्रा हराएको ४ दिन भयो । २८ साउनमा अमृतमाया र उनकी कान्छी बुहारी कमला बारीमा कोदो गोड्न व्यस्त थिए । मुसलधारे पानी परिरहँदा पनि सासूबुहारी प्लास्टिक ओडेर धमाधम कोदोबारीको झार उखेल्दै थिए ।
जमिन पूरै कामेको र घरमुनिको बारीमा गड्याङगुडुङ गरेको आवाज सुनिन थाल्यो । हत्तपत्त उठेर हेर्दा घरमुनिको पाटोबाट झण्डै ४ सय मिटर लामो पहिरो तल्लोबारी पगिसकेछ । पीडाले भक्कनिदै अृमतमायाले भनिन्, ‘मुसलधारे पानी परिरहेको थियो, त्यतिबेला हामीले कराएको कसैले सुनेनन् ।
मेलापाता गएका अमृतमायाका श्रीमान शेरबहादुर केहीबेरपछि घर आइपुगे । त्यतिबेलासम्म पहिरो रोकिएको थिएन् । बिस्तारै गाउँभरी हल्ला भयो । सबै मानिस जम्मा भए । पहिरोले बारी कटान गरिरहेको थियो । गाउँलेले उनीहरूलाई घरमा नबस्न सल्लाह दिएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा डोजराध्यक्ष शिर्षकमा समाचार छापिएको छ । विकास भनेको सडक निर्माण भएको छ । विकासको बिम्ब डोजर । अनि स्थानीय सरकारका अगुवा बनेका छन्, निजी डोजरका मालिक । प्रदेश ५ का गाउँ–नगरका पदाधिकारी कति ठेक्कापट्टामा छन्, कतिले प्रत्यक्ष–अप्रत्यक्ष डोजरमै लगानी गरेका छन् ।नियमले गाउँ–नगरका प्रतिनिधिलाई नाफा कमाउने काममा संलग्न हुन वा ठेक्कापट्टा गर्न दिँदैन । त्यसैकारण अधिकांश जनप्रतिनिधिले नातागोता र आफन्तका नाममा डोजर चलाउँदै आएका छन् ।
पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण थापा पेशैले ठेकेदार हुन् । निर्वाचनअघि ठेक्कापट्टा गर्थे । नगरप्रमुख बनेपछि ठेक्कामा नगरकै काम धेरै गरेका छन् ।
पत्नीका नाममा रहेको सुधा कस्ट्रक्सनले गएको आर्थिक वर्षमा ७० लाख जतिको काम गरेको छ । नगरप्रमुखकै कम्पनी भएपछि ठेक्कापट्टामा पहिलो नम्बरमा छानिने गरेको अन्य ठेकेदार बताउँछन् । सुधा कन्ट्रक्सनका डोजरहरू गएको वर्ष खाली बस्नु परेन । सो कन्ट्रक्सनको नाममा ३ वटा जेसीभी डोजर र २ वटा चेनवाला डोजर छन् । सुधाले अधिकांश काम रामपुर नगरपालिकाभित्रै गर्छ ।
बिहीबार मात्रै प्रधानमन्त्री केपी ओलीले गाउँपालिकाका प्रतिनिधिसँग प्रश्न गरेका थिए, ‘गाउँपालिकाका जनप्रतिनिधि ठेकेदार बनेर डोजर चलाउन पाइन्छ रु ’
तर जनप्रतिनिधिहरू भने सकेसम्म ठेक्कापट्टामा छन् । त्यो नभए डोजर मात्रै भए पनि प्रयोग गर्दै आएका छन् ।
प्रदेश ५ का पहाडी जिल्लाका गाउँ–नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले डोजर खरिद गरी करौडौंका योजना निर्माण गरेका छन् । रामपुरका प्रमुखजस्तै अरुतिरका जनप्रतिनिधिले पनि डोजर चलाउनकै लागि योजना बनाउने गरेको स्थानीयले सुनाउँछन् ।
यस्ता डोजरहरू कतिपय आफ्नै नाममा छन्, कतिपय पत्नी, भाइ, छोराछोरी र सालासालीको नामबाट चलाइएको छ । प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष पवित्रा जिसीका दुई डोजर छन् । गएको आर्थिक वर्षमा दुवै डोजर खासै खालि बस्नुपरेन । उपाध्यक्षका डोजरको भाउ पनि चलेकोभन्दा बढी छ ।
प्युठान नगरपालिकामा सामान्य डोजरले प्रतिघण्टा करिब ४ हजार २ सय रूपैयाँ लिन्छन् । झिम्रुकले भने प्रतिघण्टा ६ हजार ५ सय लिँदै आएको छ ।
प्युठानको माझकोटमा विस्तार गर्न थालिएको माझकोट–नेपाने–काफलबुटा सडक खन्दै डोजर । तस्बिर स् केशर रोका
झिमरुक बाङ्गेफेदीका स्थानीय व्यवसायी नारायण जिसीले जनप्रतिनिधि कमाउधन्दामा लागेको आरोप लगाए । ‘गाउँमा भएको विकासबारे पत्तो नै हुँदैन, वडाध्यक्ष र नगरप्रमुख नै ठेकेदार भएपछि अरुको के मतलब भयो रु ’ उनले प्रश्न गरे ।
रामपुर मात्रै नभई पाल्पाको रैनादेवीछहरा, माथागढी, वेगनासकाली, तिनाउँ गाउँपालिका र तानसेन नगरपालिकाका जनप्रतिनिधिले पनि आफै वा आफन्तको नाममा डोजर किनेका छन् । अनि आफ्नै गाउँ–नगरमा संचालन गर्दै आएका छन् ।
वेगनासकाली गाउँका प्रवक्ता लक्ष्मी अधिकारी पनि विगतमा निर्माण व्यवसायीको काम गर्थे । उनी जनप्रतिनिधिमा निर्वाचित भए । अधिकारीले बहिनी ज्वाइँको नाममा गाउँपालिकाभित्र डोजर चलाइरहेका छन् । तानसेन नगर वडा नंं ५ का वडासदस्य विष्णुबहादुर कार्कीले सालाको नामबाट डोजर चलाइरहेको समाचारमा उल्लेख छ ।