Friday, September 20, 2024

धुँवा फाल्ने गाडी निषेध

काठमाडौं–सरकारले ११ वटै उपमहानगर तथा ६ वटै महानगरपालिकामा गुड्ने चारपांग्रे गाडीलाई हरियो स्टीकर अर्थात् प्रदूषण जाँचपास अनिवार्य गरेको छ।

यातायात विभागका सूचना अधिकारी तुल्सीराम अर्यालका अनुसार यसअघि काठमाडौं उपत्यकाका मुख्य सडकमा हरियो स्टिकर अनिवार्य गरेकोमा शुक्रबारदेखि मुलुभरका उपमहानगर र महानगरमा गुड्ने सवारीसाधनले अनिवार्य रुपमा प्रदूषण जाँचपास गर्नुपर्ने नियम लागू गरेको हो।

पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धुवाँको मात्रा ग्याँस एनालाइजर र डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँ जाँच ‘डिजेल स्मोक मिटर’ मेसिनबाट जाँच गरिन्छ।

अर्यालका अनुसार डिजेल गाडीको प्रदूषणको मापदण्ड जाँच गर्न ‘स्मोक मिटर’ २० र पेट्रोल गाडीको प्रदूषणको मापदण्ड जाँचका लागि ‘ग्यास एनालाइजर’ २० वटा गरी ४० सिन ल्याएर सम्बन्धीत क्षेत्रमा पठाएपछि नियम लागू भएको हो।  ती मेसिन विभाग अन्तर्गतका १५ वटा कार्यालय र ६ वटा सेवा कार्यालयमा पठाएको हो।

सवारीसाधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा  धुवाँको मात्रा २ दशमलव ४४ एचएस्यु हुनुपर्ने मापदण्ड  छ।  हाल विभागसँग प्रदूषणको मापदण्ड जाँच गर्ने ४३ वटा मेसिन छन्।

वन तथा वातावरण मन्त्रालयले यही वैशाखमा सार्वजनिक गरेको वातावरणको वर्तमान अवस्थाबारेको स्थितिपत्रमा वायू प्रदूषणमा सवारी साधनको ३७ प्रतिशत भूमिका रहेको उल्लेख छ। यातायात व्यवस्था विभागका अनुसार नेपालमा कुल ३० लाख ८ हजार १ सय ९ सवारी साधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल छन्।

प्रदूषण जाँच गरेर हरियो स्टिकर प्राप्त गर्न सवारीसाधनले ३५ रुपैयाँ शुल्क तिर्नुपर्छ। जाँचमा अनुत्तीर्ण भएका तर सञ्चालनमा रहेका सवारीसाधनबाट दुई हजार रुपैयाँसम्मको जरिवाना गराउने व्यवस्था छ।

विभागले यसअघि २०७५ वैशाखदेखि सवारीसाधनको अनिवार्य रूपमा प्रदूषण जाँचपास गर्ने बताएको थियो।  मेसिन आपूर्तिमा ढिलाइ भएको भन्दै लागू गर्ने मिति आगामी साउनसम्मका लागि सारिएको थियो। तर, मेसिन सम्बन्धित स्थानीय तहमा नपुगेको भन्दै विभागले प्रदूषण जाँच अनिवार्यको मिति भदौ १ गतेका लागि सारिएको थियो।

सरकारले यसअघि दरबारमार्ग, सिंहदरबारको आसपास, ठमेल, न्यूरोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका उपत्यकाकाका मुख्यस्थानमा गुड्ने सवारीसाधनमा हरियो स्टिकर अनिवार्य गरेको थियो।

सम्बन्धित समाचार
प्रदूषण जाँच अनिवार्य गर्ने मिति सरेको सर्‍यै
आइपुगे प्रदूषणको मापदण्ड जाँच्ने ४० मेसिन, फेल भएका गाडी साउनदेखि काठमाडौंमा ‘नो इन्ट्री’

ताजा समाचार

सम्बन्धित समाचार